लक्ष्मीपुरपतारीमा हरवा चरवाको बजेट सम्बन्धी छलफल

सिरहा । स्थानीय तहमा हरवा चरवाको बजेटको विषयमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकामा शुक्रबार छलफल कार्यक्रम गरिएको छ ।
गाउँपालिका सभाकक्षमा आयोजित छलफल कार्यक्रमको प्रमुख अतिथि समेत रहेका लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले गाउँपालिकाले हरवा चरवालाई नै तोकेर बजेट विनियोजन नगरेको भएपनि लक्षित समूहका लागि छुट्याइएको बजेटबाट हरवा चरवा लक्षित काम गर्न सकिने बताए । ‘त्यसका लागि कुन वार्डमा कति हरवा चरवा छन् भन्ने यकिन भएपछि वडा र गाउँपालिकामा प्रस्तावना पेश गरिए बजेट छुट्याएर हरवा चरवाका लागि काम गर्न सकिन्छ’ अध्यक्ष ठाकुरले भने । मा.वि. तहसम्मको शिक्षा निःशुल्क भएकाले हरवा चरवा परिवारका अभिभावकले आफ्ना छोराछोरीलाई नियमित रुपमा विद्यालय पठाउनु पर्नेमा अध्यक्ष ठाकुरले जोड दिए । हरवा चरवाको समूहमा महिलाहरु सकृयता बढी भएपनि त्यसमा पुरुषहरुलाई पनि जोड्नु पर्ने उनको सुझाव थियो ।


‘पछिल्लो कार्यकालको गाउँ कार्यपालिकाले हरवा चरवाको न्यूनतम् ज्याला सम्बन्धी निर्णय गरेकाले त्यसको कार्यान्वयनका लागि सबै वडा कार्यालयहरुमा परिपत्र गरिएको छ’ उनले भने ‘गाउँपालिका क्षेत्रमा ज्यालामा एक रुपताका लागि हरवा चरवाहरुले निगरानी गरी कम ज्याला दिइएको छ भने त्यसको सूचना वडा कार्यालयमार्फत् गाउँपालिकालाई दिऔं जसमा गाउँपालिकाले तत्काल पहल गर्न सकोस् ।’
गाउँपालिका उपाध्यक्ष अमरकला यादवले गाउँपालिकाले गर्ने निर्णयहरुमा आफूले हरवा चरवाका लागि सक्दो पहल गर्ने बताइन् । गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले चालु आर्थिक वर्षमा हरवा चरवाका लागि बजेट नछुट्याएको भएपनि आगामी आर्थिक आ.व.मा तोकेरै बजेट छुट्याइने प्रतिबद्धता जनाइन् । योजना शाखा प्रमुख चन्देश्वर यादवले हरवा चरवाको यकिन तथ्यांक संकलन गरेर लक्षित समूहको बजेटबाट क्षमता विकास, जीविकोपार्जनका लागि के गर्न सकिन्छ छलफलको आधारमा काम गर्न सकिने उल्लेख गरे ।
लक्ष्मीपुरपतारी १ र ४ का वडाध्यक्ष क्रमशः परशुराम मण्डल र विद्यानन्द साह सुडीले हरवा चरवा अगुवाहरुले मदिरा सेवन विरुद्ध पनि अभियान चलाउनु पर्नेमा जोड दिंदै बालबालिकाको शिक्षाका लागि ध्यान दिन आग्रह गरे । ‘वडा स्तरीय लक्षित बजेटबाट हरवा चरवाका लागि पनि कार्यक्रम गर्छौं’ अध्यक्षद्वयले भने । गाउँपालिका शिक्षा शाखा प्रमुख रामबालक पासवानले प्रायः गरिब, बिपन्न, दलित परिवारका बालबालिकाहरु विद्यालय तहबाट नै पढाई छोड्ने प्रवृत्ति रहेको चर्चा गर्दै निःशुल्क शिक्षा सम्बन्धी व्यवस्थाको सदुपयोग गर्नुपर्ने बताए ।
‘सामुदायिक विद्यालयमा खाजा, पोसाक, छात्रबृत्ति लगायतका सुविधा उपलब्ध छ’ उनले भने ‘त्यसको विषयमा गाउँपालिकाले अभिभावकहरुलाई जिम्मेबार बनाउन सक्दो पहल गरिरहेको छ, सामाजिक संघ संस्थाले पनि त्यसमा सघाउन जरुरी छ ।’


हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिडम फण्डको सहयोगमा दलित जनकल्याण युवा क्लवद्वारा आयोजित छलफल कार्यक्रममा हरवा चरवा अधिकार मञ्चकी केन्द्रीय कोषाध्यक्ष राजवती मण्डल, सचिव कासिम मियाँले गाउँपालिका अध्यक्ष ठाकुर, उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत लामालाई संयुक्त रुपले हरवा चरवाका लागि विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका थिए । मञ्चकी केन्द्रीय कोषाध्यक्ष मण्डलको स्वागत रहेको छलफल कार्यक्रमको संचालन सन्तोष विसुन्के र उद्देश्यको विषयमा आशा विश्वकर्माले प्रष्ट्याएकी थिइन् ।