सिरहा । मिटरब्याजको कारणले उठीबास हुन लागेका जिल्लाका विभिन्न ठाउँका पीडितहरुले सिरहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका छन् ।
‘जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीको सम्पत्ति छानबिन गर, मिटरब्याजी पीडितलाई न्याय दे, गरिबहरुलाई सहुलियत दरमा बैंक ऋणको व्यवस्था गर’ लगायतको नारा लगाउँदै र्यालीसहित पीडितहरुले नगरको मुख्य बजार क्षेत्र परिक्रमा गरी मुख्य चोकमा कोणसभा गरेका थिए । कोणसभामा वक्ताहरुले मधेसमा खराब संस्कृतिको रुपमा मौलाउँदै गएको मिटरब्याज विरुद्ध कानुनसँगै सामाजिक र राजनीतिक लडाइँ लड्नु पर्ने बताए ।
सामाजिक अभियन्ता संघर्ष दाहालले मिटरब्याजबाट समाजका कथित तल्लो जातमा पारिएका र गरिब, निम्न मध्यम वर्गका मानिसहरु बढी पीडित रहेको चर्चा गर्दै सामान्य घर व्यवहारका लागि लिएको थोरै ऋणको तीन दोब्बरको तमसुक बनाउँदा कैयौंको उठीबास भएको बताए । प्रधानमन्त्रीले गरेको कारबाही गर्न निर्देशन दिंदा समेत स्थानीय प्रहरी प्रशासनले विद्यमान कानुन बमोजिम कारबाही गर्न नसकिने भन्दै मिटरब्याजीहरुलाई छोडिदिंदा उनीहरु अझ मैमत्त बन्दै गएको दाहालले आरोप लगाए । ‘कानुनी लडाईले मात्र हुँदैन, राजनीतिक दलहरुको सहयोगमा सशक्त लडाइँ लड्नु पर्छ’ उनले भने ‘मिटरब्याजीहरुलाई कानूनी कठघरामा नल्याएसम्म आन्दोलन रोक्नु हुँदैन ।’
औरही गाउँपालिका ४ इँटाटार गाउँका दलित अगुवा मनोजकुमार पासवानले मिटरब्याजीले दलित, बिपन्न, निमुखाहरुको जीवनमाथि खेलवाड भइरहेको गुनासो गर्दै मिटरब्याजी विरुद्ध सामाजिक आन्दोलन गर्नुपर्नेमा जोड दिए । गाउँघरमा बिपन्न दलित बस्तीमा छिमकी तथा स्थानीय मिटरब्याजी सुद्खोरले आतंक मच्चाइरहेको चर्चा गर्दै पासवानले भने ‘घर व्यवहार चलाउन लिएको ऋणको तीन दोब्बर कपाली तमसुक बनाउनुका साथै जग्गा समेत आफ्नो नाममा पास गराएर सुद्खोरहरुले त्यही तमसुकको आधारमा लेनदेन मुद्दा चलाई उठीबास गराउन थालेपछि गाउँघर आतंकित बनेको छ ।’
गोलबजारका सामाजिक अगुवा कर्मलाल महतोले एक लाख रुपैयाँ लिंदा तीन दोब्बरको हो भन्दै १२ लाख रुपैयाँसम्मको तमसुक बनाएर अप्ठ्यारोमा परेकाहरुमाथि ठूलो अन्याय भइरहेको बताए । स्थानीय राजनीतिक दलहरुले पनि मिटरब्याजी विरुद्ध पीडितहरुलाई सघाउन महतोको आग्रह थियो । कोणसभामा लहान, गोलबजार र औरहीसहित विभिन्न ठाउँका मिटरब्याजबाट पीडितहरुको सहभागिता थियो ।
छानबिनपछि प्रमाणिकरण गर्न आग्रह
मिटरब्याजी पीडितहरुले विभन्नि माध्यमबाट आफूहरु ठगिएको गुनासो गर्न थालेपछि सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आर्थिक लेनदेन सम्बन्धी कपाली तमसुकलाई वडा र स्थानीय तहले आवश्यक छानबिन गरेर मात्र प्रमाणिकरण गर्न आग्रह गरेका छन् । प्रजिअ कवारीेले सार्वजनिक सन्देश जारी गर्दै तीन दोब्बरको कागज बनाएर घर जग्गा पास गर्ने, सोझा जनताको अप्ठ्यारोको फाइदा उठाउँदै घरजग्गा फिर्ता नगर्ने, अदालतबाट कपाली तमसुक बराबर रकमको मुद्दा दायर गरी सम्पत्ति लिलाम गरी उठीबास गराएका घटनाहरु देखिएकाले प्रमाणिकरण गर्दा छानबिन गर्न आग्रह गरेका हुन् ।
मिटरब्याज जस्ता गैरकानुनी तथा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सबै तह र तप्काका व्यक्ति, संस्थाहरु सचेत रहनु पर्ने सन्देशमा उल्लेख छ । चर्को ब्याजमा रकम लनदेनले करोडौं रकमको कर छली तथा कालोधन जम्मा गर्ने प्रवृत्ति समेत बढेको उल्लेख गर्दै अपिलमा कैयौं सोझा जनता बाध्यतावश मिटरब्याजमा फसेर आफ्नो घरखेत सर्वस्व गुमाएको उल्लेख छ । पछिल्लो दिनमा गृह मन्त्रालयबाट मिटरब्याजीहरु विरुद्ध कारबाही अगाडि बढाइएको भएपनि स्पष्ट कानुनको अभावमा काुनुको दायरामा ल्याउन विभिन्न समस्या हुँदाहुँदै प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइएकाले त्यसमा वडा कार्यालय र पालिकाहरुले पनि लेनदेन सम्बन्धी कागज प्रमाणिकरण गर्दा छानबिन गर्न सन्देशमार्फत् आग्रह गरिएको छ ।