सिरहा । सिराहाको लहानस्थित नापी कार्यालयले धनगढीमाई नगरपालिका १ र २ नं. वडा अन्तर्गत पर्ने गाउँमा गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपूर्जा पूर्जा वितरण गरेको छ ।
लहान नापीले मंगलबार र बुधबार वडाध्यक्ष सूर्यनारायण यादवसहित स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा धनगढीमाई १ र २ अन्तर्गत पर्ने बाखर, मेदनीपुर, छपराढी सदाय टोल, बनौली, भवानीपुर लगायतका गाउँका थप तीन सय २४ जनालाई प्रमाणपूर्जा बाँडिएको नापी कार्यालय लहानका प्रमुख संजय सिंहले बताए । प्रमुख सिंहका अनुसार चालु आर्थिक वर्ष २०७८/ ०७९ को असारको चौथो सातासम्म धनगढीमाई नगर क्षेत्रमा एक हजार चार सय ९८ जनालाई गाउँब्लकको जग्गाधनी पूर्जा बाँडिएको छ ।
जगाधनीपूर्जा पाएपछि बाखर गाउँका ५५ वर्षीय भोला सदायले भने ‘पुस्तौंदेखि बसोवास गर्द आएको जग्गाको पनि स्वामित्व थिएन, लालपूर्जा सामाजिक हैसियत नै बढेको महसूस भएको छ ।’ जग्गाधनी प्रमाणपूर्जा पाएपछि खुशी हुँदै बाखर गाउँकी ४९ वर्षीया गणिता पासवानले भनिन् ‘जग्गाधनी प्रमाणपूर्जा पाएपछि सुकुम्बासीको पहिचान फेरिएको छ ।’
साविक १२ गाविसमा जग्गाधनीपूर्जा
त्यसअघि नापीले लहान नगरपालिका अन्तर्गत सोनमती मझौरा, साविक लहान १ देखि १० नं. वडासम्म २ र ३ बाहेक एक हजार दुई सय ३९, बस्तीपुर तीन सय ६७, पडरिया सात सय ८२, ढोढना तीन सय १५ र सिसवनीका चार सय ६७ जनालाई गाउँब्लक जग्गाधनी दर्ता प्रमाण पूर्जा बाँडेको लहान नापीका टोली प्रमुख रतनप्रसाद साहले बताए । लहान नापी अन्तर्गत पर्ने साविकको ४८ वटा गा.वि.स.मा आ.व. २०७२/०७३ देखि नै जोतभोगको आधारमा गाउँब्लक जग्गाको नापी गरिसकेको टोली प्रमुख साहले उल्लेख गरे । त्यही नापीको आधारमा जग्गा नापजाँच ऐन २०१९ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रकृया पूरा गरी साविकको १२ गाविसमा गाउँब्लकको जग्गाधनी दर्ता प्रमाणपूर्जा बाँडिसकेको साहले बताए ।
उनका अनुसार सिंगराही, मटियर्वा, लहानगोठ, पडरिया, बस्तीपुर, सिसवनी, ढोढना, हनुमाननगर प्र.ध., मोहनपुर कमलपुर, धनगढी, चैनपुर, नैनपुर, फुलकहाकट्टीमा गाउँब्लक जग्गाको लालपूर्जा बाँडिएको छ । ‘जग्गा नापी भएको मितिको आधारमा पहिलो नापी भएकालाई पहिलो प्राथमिकता दिएर आवश्यक प्रकृया पूरा गरी बाँकी रहेका ठाउँमा जग्गाधनी पूर्जा बाँड्ने योजना छ’ उनले भने ‘नापजाँच भइसकेका गाउँब्लक जग्गा सम्बन्धी सबै प्रकृया स्थानीय तहको वडासँगको समन्वयमा हुने भएकाले त्यस्तो जग्गा जोतभोग गरेका दलित, बिपन्न, हरवा चरवाका लागि नापीसँग लहानस्थित दलित जनकल्याण युवा क्लवले पनि सहकार्य गरिरहेको छ ।’
सिरहा नापीको ३३ ठाउँमा नाप्न बाँकी
जिल्ला सदरमुकाम समेत रहेको सिरहास्थित नापी कार्यालय अन्तर्गत पर्ने साविकका ७३ गाविसमध्ये आ.व.२०७३/०७४ देखि हालसम्म ४० गाविसको जग्गा नापी गरी दर्ता, प्लटसिटको काम गरिएको अमिन निकेशकुमार चौधरीले बताए । अमिन चौधरीका अनुसार त्यसपछि जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाएर दुर्गापुर, बलही, महनौर, बेतौना, चन्द्रअयोध्यापुर, सुखीपुरमा सम्बन्धित व्यक्तिलाई वितरण गरिएको छ ।
‘बेलहा, थलहा, नरहा, अर्नमा, चन्द्रोदयपुर, विष्णुपुरका गाउँब्लक जग्गाको दर्ता प्रमाणपूर्जा बन्दैछ’ उनले भने ‘आगामी आ.व.को शुरुमै आशोपुर बल्कवा, देवीपुर, औरही, कुसहा लक्ष्मिनिया र बेलहामा बाँड्दैछौं ।’ उनका अनुसार सिरहा नापी अन्तर्गत पर्ने हनुमाननगर प्र.म., सिरहा, सारश्वर, लवटोली, लवटोली गोठ, लगडीगदियानी, रामनगर, महिसोथा, रामपुरविर्ता, माडर, मखनाहा, मझौलिया, मलहनिया, मानपुरमा गाउँब्लक जग्गा नाप्न बाँकी रहेको छ ।
के हो गाउँब्लक जग्गा ?
गाउँब्लक क्षेत्रको नापजाँच सम्बन्धी निर्देशिका २०७७ मा गाउँब्लक भन्नाले शुरु नापीको फिल्डबुकमा कित्ता कायम भई गाउँब्लक, गाउँ, शहर, शहरी क्षेत्र, बजार क्षेत्र, बजार, मिनही, डिही, घरबास कोटी, भखारी, स्वबासी, बेनिस्सा, बास जनिएको वा शुरु नापी हुँदा ब्लकभित्र विभिन्न कित्ताहरु कायम भएको र हकभोगमा जनिएको दर्ता हुन बाँकी रहेको क्षेत्र रहेको उल्लेख छ ।
निर्देशिकामा दर्ता बाँकी वा फिल्डबुकमा गाउँब्लक जनिने शब्द उल्लेख नभई फिल्डबुक खाली रहेको तर परापूर्वकालदेखि गाउँबस्ती रहेको प्रमाणित हुने आधार भएको क्षेत्र वा शुरु नापी हुँदा गाउँब्लक क्षेत्र ठूलो भएको कारणबाट कित्ता कायम नगरिएको तर नक्साको मार्जिनमा गाउँ, नगर, बजार वा शहरी ब्लक कायम भएको ब्यहोरा उल्लेख भई उक्त ब्लकको वरिपरिका नक्साहरु जोडी भिडाउँदा ब्लकको स्वरुप देखिने र परापूर्वकालदेखि बस्तीको रुपमा रहेको ब्लक क्षेत्र वा नेपाल सरकारको निर्णयबाट गाउँब्लक क्षेत्र भनी निर्धारण गरिएको क्षेत्रलाई गाउँब्लक भनिएको छ ।