सिरहा । सिरहाको लहान नगरपालिका ८ स्थित संस्थागत विद्यालय स्कूल अफ स्कलर्सको शुक्रबार भव्य समारोहबीच उद्घाटन तथा स्वागत गरिएको छ । उद्घाटन समारोहमा वक्ताहरुले सामुदायिक र संस्थागत विद्यालयबीच बढ्दै गईरहेको शैक्षिक खाल्डो पुर्न मिलेर अगाडि बढ्न सुझाव दिंदै कमाएको मुनाफाको केही अंशले सामाजिक क्षेत्रमा काम गर्न सुझाव दिए ।
समारोहमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले स्कूल अफ स्कलर्सले संैद्धान्तिक र प्रयोगात्मक दुवै पद्धतिमा पठनपाठन गराई विद्यार्थीलाई योग्य बनाउनु पर्नेमा जोड दिए । खुला आर्थिक नीतिले शिक्षा तथा स्वास्थ्य संस्थाहरु खुल्ने क्रम बढिरहेको भएपनि गुणस्तरीय सेवा नरहेकाले त्यसका लागि सबैले भूमिका खेल्नु पर्ने औंल्याए । ‘गुणस्तरीय शिक्षा स्वास्थ्यका लागि हामीले पनि आ–आफ्नो जिम्मेबारी पूरा गरौं’ प्रजिअ कवारीले भने ‘विद्यालयले कमाएको मुनाफाको केही अंश सार्वजनिक शौचालय, धारा, विश्रामस्थल, पार्क जस्ता सार्वजनिक हितको क्षेत्रमा पनि खर्चिनु पर्छ ।’
बालबालिकालाई गुणस्तरीय शिक्षा दिन विद्यालयले ध्यान दिनु पर्नेमा जोड दिंदै उनले स्थानीय कला, संस्कृति, भेषभूषा जस्ता कुराहरु सिकाउनु पर्ने खाँचो औंल्याए । ‘अभिभावकहरुले आफ्नो गाँस काटेर छोराछोरीको पढाईमा लगाउने भएकाले शुल्क निर्धारणमा पारदर्शिता हुनुपर्छ’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लहानका प्रमुख पुष्कल खनालले विद्यालय तथा शैक्षिक संस्थाहरुले परीक्षामुखी भन्दा गुणात्मक कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने आग्रह गरे भने सेवानिवृत्त शिक्षक विश्वनाथ महतोले मिहेनत कहिल्यै खेर नजाने उल्लेख गर्दै जिज्ञासा, जाँगर भए सफल हुने औंल्याए ।
लहान उद्योग बाणिज्य संघका अध्यक्ष अशोक अमात्यले सामूहिक लगानीमा खुलेको विद्यालय जस्तै जिल्लामा टेलिभिजन स्थापना, कृषिफर्म, पर्यटन विकासका लागि सामूहिक लगानी खोजी गर्नुपर्ने बताए । नेशनल कम्प्युटर सेन्टर लण्डन (बेलायत) तथा डिजी स्कूलका नेपाल प्रतिनिधि विवेकानन्द झाले शिक्षाले व्यवहार, सीप र ज्ञान परिमार्जन हुनुपर्ने चर्चा गर्दै अभिभावकहरुले थोरै भएपनि आफ्ना छोराछोरीलाई समय दिनु पर्ने खाँचो औंल्याए ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले सामुदायिक तथा संस्थागत विद्यालयले घोकन्ते भन्दा सिर्जनात्मक शिक्षामा जोडदिनु पर्नेमा जोड दिंदै विद्यालयको अस्वस्थ प्रतिस्पर्धा हटाएर शिक्षकहरुको बृत्ति विकासमा पनि ध्यान दिनुपर्ने औंल्याए । स्कुल अफ स्कलर्सका अध्यक्ष तथा निर्देशक सुदिपराज कुशवाहाको अध्यक्षतामा सम्बपन्न कार्यक्रममा विद्यापति क्याम्पसका प्रमुख मनोजकुमार कर्ण, अभिभावक सुनिल साह लगायतले विद्यार्थीहरुको उज्ज्वल शैक्षिक भविष्यका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा झाले बेलायतको लण्डनस्थित नेशनल कम्प्युटर सेन्टर तथा डिजी स्कूलका नेपाल प्रतिनिधि झाले स्कुल अफ स्कलर्सको सेन्टरसँगको आबद्धता प्रमाणपत्र हस्तान्तरण गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विभिन्न सांस्कृतिक प्रस्तुती रहेको उद्घाटन समारोहमा शिक्षाप्रेमी महतोलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने अतिथि तथा पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।