धनुषा । मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गर्दै गृह तथा सञ्चार मन्त्रालय राखेको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए । ‘६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको हो’ मन्त्री साहले भने ‘केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट थालनी गरेका छौं ।’ मन्त्रिपरिषद्को निर्णय बमोजिम कामको प्रकृति अनुसार मन्त्रालयको नाम परिवर्तन गरिएको उनले बताए ।
मन्त्रालयको नाम कानून बमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । प्रदेश सरकार स्थापना हुँदा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको मन्त्रालय विभाजनसँगै कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय गठन गरिएको थियो । त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको भएपनि पुनः नाम फेरिएको हो । नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारमा सहभागी भएको एघार महिनापछि मन्त्रालयको नाम परिवर्तन गरिएको हो ।