सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई नगरपालिका कार्यालयले एक समारोहमार्फत् विदाई गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले आइतबार स्थानीय प्राकृतिक अस्पतालको सभाकक्षमा आयोजित समारोहमा निवर्तमान प्रमुख हरिनारायण चौधरी उपप्रमुख फुलकुमारी श्रेष्ठ, निवर्तमान वडाध्यक्षहरुलाई मायाको चिनो, गम्छा ओढाएर विदाई गरेका हुन् ।
विदाई समारोहमा निवर्तमान प्रमुख चौधरीले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका लागि थालिएका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । जनताले चुनेका वर्तमान प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिंदै चौधरीले भने ‘नगरको समृद्धि र विकासका लागि निर्वाचित जनप्रतिनिधहरुलाई आफ्नो अनुभवको आधारमा जस्तोसुकै बेला सघाउन तयार छु ।’ विदाई समारोहमा धनगढीमाई १, २, ३, ४, ७, ८, १०, ११, १२ र १४ नं. वडाका निवर्तमान वडाध्यक्ष, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति थियो ।
पहिलो स्थानीय तहको निर्वाचनमा एमालेले १, २, ६, १०, ११, १२ र १४ जितेको थियो भने माओवादी केन्द्रले प्रमुख उपप्रमुखसहित ३, ४, ७, ८, ९ र १३, कांग्रेसले ५ नं. वडा मात्र जितेको थियो । यो पल्ट एमालेका शिवशंकर महतो नगर प्रमुख र कांग्रेसकी संगीताकुमारी चौधरी उपप्रमुख निर्वाचित भएकी छन् । यो पल्टको निर्वाचनमा नगरको १४ मध्ये कांग्रेसले १, २, ४, ५, १० र १४, माओवादी केन्द्रले ३, ९, १३, एमालेले ११, १२, जसपा नेपाल ७, सिके राउतको जनमत पार्टी ८ र नेकपा एकीकृत समाजवादीले ६ नं. वडाको वडाध्यक्षसहित प्यानल जितेको छ ।