सप्तरीको दुई छुट्टाछुट्टै दुर्घटना, बालिकासहित चारको मृत्यु

सप्तरी । जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएको मोटरसाइकल दुर्घटना र पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुर खण्डमा शनिबार बिहान दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहान करिब सवा १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशातर्फ जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्ंिकदा घाइते भएका तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ का करिब ३० वर्षीय पप्पु यादव, २६ वर्षीय ंसन्दिप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार दुर्घटना भएको जानकारी पाए लगत्तै तत्काल उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्याएर इसिजी गराउँदा चिकित्सकले तीन जनाको मृत्यु भएको घोषणा गरेका हुन् । दुर्घटनास्थलमा जिल्ला प्रहरीबाट अनुसन्धान टोली खटाई शवको लास जाँच मुचुल्का लगायत पोष्टमार्टम गराइएको र दुवै मोटरसाइकल नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर बालिकाको मृत्यु
जिल्लाको दक्षिणी सीमावर्ती बलान बिहुल गाउँपालिका ५ रामनगर टोलकी छ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार शुक्रबार बिहान १० बजेतिर पोखरीमा स्थानीय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा रबिन्द्र यादवकी करिब छ वर्षीया छोरी अनुषा कुमारी यादवको डुबेर मृत्यु भएको हो ।
घटना लगत्तै कडरबोनास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा खटिई घटनास्थल प्रकृति मुचुल्का उठाई शवको पोष्टमार्टम गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।