जुवा खालबाट आठ जना पक्राउ, जुवा कसुर सम्बन्धी मुद्दा

सप्तरी । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सप्तरीको राजविराजबाट जुवा खेलिरहेको अवस्थामा आठ जनालाई नगद र कौडासहित पक्राउ गरेको छ ।
जिल्ला पहरी कार्यालय सप्तरीका अनुसार सोमबार बिहान करिब डेढ बजेतिर राजविराज नगरपालिका ९ गढिया टोलबाट ४५ हजार रुपैयाँ र भारतीय मुद्रा तीन सय ३० रुपैयाँसहित आठ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा राजविराज ६ बस्ने ४२ वर्षीय नवलकिशोर चौधरी, राजविराज ९ बस्ने ५२ वर्षीय बिरेन्द्र प्रसाद यादव, ४० वर्षीय सन्तोष दास, ३१ वर्षीय विजय दास, रुपनी गाउँपालिका ५ बस्ने २७ वर्षीय सरोज कुमार शर्मा, ४० वर्षीय विद्यानन्द ठाकुर, डाक्नेशवरी नगरपालिका ७ का ४० वर्षीय सूर्यदेव राय र ८ का ४३ वर्षीय रामलाल मुखिया रहेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार बिरेन्द्र प्रसाद यादवको घरमा जुला खेलिरहेको सूचनाको आधारमा राजविराजस्थित वडा प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक समुन्न्त महन्त गिरीको कमाण्डमा खटिएको टोलीले कौडा, नगदसहित पक्राउ गरिएकाहरु विरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट सोमबार अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
चोरी मुद्दामा अदालतबाट जरिबाना र कैद सजायको फैसला सुनाइएका राजविराज नगरपालिका ६ बस्ने राजिन भनिने १९ वर्षीय राजेन्द्र कुमार सिंहलाई खोजतलासको क्रममा पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ । मनोज कुमार यादवको जाहेरीको आधारमा चोरी मुद्दा चलाइएका सिंहलाई सप्तरी जिल्ला अदालतको २०७६ माघ ९ गतेको फैसला अनुसार एक महिना १५ दिन कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।
उनलाई खोजतलासको क्रममा आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरी सोमबार जिल्ला अदालतमा उपस्थित गराएपछि फैसला अनुसारको कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।