प्रहरी उपरीक्षक पाण्डेको निलम्बन फुकुवा, एक वर्ष पदोन्नति रोक्का

सिरहा । नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति तथा संविधानसभा दस्य रामचन्द्र यादव तथा प्रमुख जिल्ला अधिकारीलाई धम्क्याएको आरोपमा निलम्बित सिरहाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेको विभागीय कारबाही स्वरुप एक वर्ष पदोन्नति रोक्का गरिएको छ ।
सिरहा प्रहरी प्रमुख रहेका बेला पाण्डेलाई यादवसहित प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई धम्क्याएको आरोपमा गृह मन्त्रालयले २० पुसमा तीन महिनाका लागि निलम्बन गरेको थियो । गत हप्ता पाण्डेको निलम्बन फुकुवा भएपनि एक वर्षका लागि पदोन्नति रोक्का गरिएको प्रहरी प्रधान कायालयले जनाएको छ । कांग्रेस सभापति यादवले अवधि नपुगी दवावको भरमा आफ्नो सरुवा गराएको भन्दै सभापति यादव र प्रजिअ कवारीलाई धम्क्याएको उजुरीको आधारमा गृहको निलम्बनमा परेका प्रहरी उपरीक्षक पाण्डेले आवेगमा फोनमार्फत् धम्क्याएको तर घरमै पुगे नपुगेको विषयमा पुष्टि नभएको बताइएको छ ।
प्रजिअ कवारीले पनि आफूलाई धम्क्याएको भन्दै प्रहरी उपरीक्षक पाण्डे विरुद्ध गृहमा प्रतिवेदन नै बुझाएका थिए । गृहले बनाएको छानबिन समिति समक्ष प्रहरी उपरीक्षक पाण्डेले सभापति यादव र प्रजिअले गैरकानुनी काम गर्न दवाव दिएको र नमानेपछि आफूलाई फसाउने योजना बनाएको बताउँदै आएका छन् ।