प्रतिभा युवा क्लव बर्दिवास गोल्डकप विजेता

सिरहा । नगर क्षेत्रमा खेलकूदको योजनाबद्ध विकास र खेलाडीहरुको प्रोत्साहनका लागि अन्य स्थानीय तहको तुलनामा अगाडि रहेको गोलबजार एकपछि अर्को खेलकूद प्रतियोगितामा पहिलो भएको छ ।
झापाको दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रथम मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा पहिलो भएको गोलबजार प्रथम बर्दिवास मेयर गोल्डकप फुटबल प्रतियोगितामा पनि पहिलो हुँदै उपाधि हात पारेको छ । २ चैतमा महोत्तरीको बर्दिवास रंगशालामा गोलबजास्थित प्रतिभा युवा क्लवले सहलेश फुटबल क्लव सिराहालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै पहिलो बनेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले एक÷एक गोलसहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा प्रतिभा पहिलो भएको हो । पेनाल्टी सुटआउटमा प्रतिभाका अमर श्रेष्ठ, निश्चल लामा, आविष्कार खड्का, शिशिर लेखी र म्याक्सवेलले गोल गरेका थिए भने सहलेशबाट ऋतिक खड्का, गौरव श्रेष्ठ, अली ओलास, जनक कार्कीले गोल गरे तर आर्मनको प्रहार विफल भएपछि प्रतिभा पहिलो उपाधि उचाल्न सफल भएको हो । विजेता प्रतिभाले पुरस्कार स्वरुप दुई लाख र उपविजेता सहलेशले एक लाख रुपैयाँ नगद, ट्रफी हात पारेको छ ।