सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ टेंग्री गाउँमा आइतबार बिहान आगलागी हुँदा घरगोठ, अन्नपात, फर्निचर जलेर करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने चार वटा बाख्रा जलेर मरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बिहान करिब १ बजेतिर स्थानीय डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारेको पत्करमा आगो सल्किएर भएको आगलागीमा १३ घरगोठ जल्नुका साथै चार थान बाख्रा जल्दा २३ लाख ७५ हजार रुपैयाँ बराबर क्षति भएको हो । आगलागी भएको खवर पाए लगत्तै इलाका प्रहरी कार्यालय महुली, कञ्चनपुर, प्रहरी चौकी लोहजाराबाट खटिएको प्रहरी, हनुमाननगर कंकालिनी, शम्भुनाथ, राजविराजबाट गएको वारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा बिहान पौने ३ बजेतिर आगलागी नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।
आगलागीमा डम्बर यादव, श्याम कुमार यादव, दिनेश कुमार यादवको घरगोठ, अन्नपात फर्निचर जलेर नष्ट भएको छ भने उनको गोठमा बाँधेर राखिएका चार थान बाख्रा समेत जलेर मरेको छ । त्यस्तै, मनोजकुमार यादव, फुल्देव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेशकुमार यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्रकुमार यादव, उपेन्द्र यादव, धिरज यादवको घरगोठ, फर्निचरका सामान, अन्नपात र घरमा राखिएका कागजपत्र सेमत जलेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।