मनाइयो श्रमिक महिला दिवस (फोटोफिचर)

सिरहा । सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित मंगलबार (८ मार्च) विश्वभर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रले आ– आफ्नै ढंगले मनाएको श्रमिक महिला दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको थियो ।
सिरहाको लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सुखीपुर, कल्याणपुर, सिरहा, कर्जन्हा लगायतका ठाउँहरुमा गैरसरकारी संस्थाहरुले स्थानीय सरकारसँग समन्वय गरी श्रमिक महिला दिवस मनाए । मुलुकको संविधान कानुन, विभिन्न घोषणाहरुमा महिला र पुरुषको भूमिका, अवसर समान भनिएपनि सामाजिक न्याय र लैंगिक समानताको दृष्टिकोणले श्रमिक महिला मात्र होइनन, सिंगो मुलुकका महिलाहरु पछाडि पारिएको महिला अधिकारकर्मीहरु बताउँछन् ।
किन मनाइन्छ श्रमिक महिला दिवस ?
सन् १९०८ मा १५ हजार महिलाले संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटीमा काम गर्ने समय किटान हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित गरिएको र्याली प्रदर्शन श्रमिक महिला दिवसको आधार मानिन्छ जसलाई सन् १९०९ मा अमेरिकी समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
महिला दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनु पर्ने माग पहिलो पल्ट समाजवादी नेतृ क्लारा जेट्किनले उठाएकी थिइन् । उनले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा यो विषय उठाएपछि सम्मेलनमा सहभागी १७ देशका एक सय महिला नेतृहरुले सहमति जनाएका थिए । त्यसपछि सन् १९११ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइएको थियो । संयुक्त राष्ट्र संघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि आधिकारिक मान्यता पाएको हो ।
महिला दिवस ८ मार्च नै किन ?
यो दिवस हरेक वर्ष मार्च ८ तारिखमा मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने सम्बन्धमा क्लाराको कुनै विचार थिएन । सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन ।
महिलाहरुले गरेको आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य मात्र भएका थिएनन, त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार समेत दिएको थियो । महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रो अनुसार २३ फेब्रुअरी आइतवार थियो, जुन ग्रिगोरीअन पात्रो अनुसार ८ मार्च हो । त्यही दिनलाई विश्वभर महिला श्रमिक दिवसका रूपमा मनाइन्छ ।