सिरहा । प्रेम विवाह गरेको महिना दिन नपुग्दै घर आएकी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरी सावर्जनिक गरेको भोलिपल्ट थप एक जना पक्राउ परेका छन् ।
मृतककी श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्ने क्रममा सोमबार सिराहाको कल्याणपुर नगरपालिका ४ जमुवा बस्ने करिब २६ वर्षीय मन्तोष कुमार साहलाई पक्राउ गरी सिराहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धानका लागि थप पाँच दिन म्याद लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीका अनुसार हत्यामा संलग्न रही फरार रहेका अन्यको खोजी भइरहेको छ ।
सिराहा प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत् २२ वर्षीया पूजा सिंह भनिने पूजाकुमारी पोद्दारको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमान कर्जन्हा नगरपालिका ७ का २३ वर्षीय अमर राउतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । राउतले १६ फागुनमा काठमाडौंबाट आफूलाई भेट्न आएकी करिब २२ वर्षीया पूजा सिंह भनिने पूजाकुमारी पोद्दारको प्रेमनगर गाउँदेखि पश्चिमतिर पर्न कमला नदीको बगरमा पर्ने काँस घारीमा घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न अमरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट आठ दिनको म्याद लिई थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, २१ फागुनको राती करिब साढे १० बजेतिर सिराहाको विष्णुपुर गाउँपालिका १ चमार टोल बस्ने बीरेन्द्र महराका करिब १८ वर्षीय छोरा रमेश महराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको छ । आपसी विवादको क्रममा महरालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका १ बस्ने ४० वर्षीय मनोज कुमार भुजेललाई पक्राउ गरी सिराहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।