बीरगञ्ज युनाईटेडले जित्यो पाँचौ गोलबजार मेयर गोल्डकपको उपाधि

सिरहा । पर्साको बीरगंजस्थित बीरगञ्ज युनाईटेडले पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उपाधि हात पारेको छ । गोलबजार २ स्थित एकीकृत खेलग्राममा गोलबजार प्रतिभा क्लव, सिरहा र बीरगञ्ज युनाईटेडबीच बुधबार भएको फाईनल खेलमा युनाइटेडले शून्यको विरुद्ध एक गोल गर्दै युनाइटेडले पहिलो विजेताको स्थान सुरक्षित गरेको हो ।
रोमाञ्चक फाइनल खेलमा आफ्नै साथीले हानेको कर्नर किकलाई युनाइटेडका १० नं. जर्सीका खेलाडी विवेक चौधरीले गोलमा परिणत गरेपछि युनाइटेडले पहिलो स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा पहिलो भएको युनाइटेडलाई गोलबजार नगर प्रमुख देवनाथ साहले नगद, ट्रफी दिंदै खेलले व्यक्तिसँगै समाज र राष्ट्रलाई चिनाउने भएकाले अनुशासित रुपले खेल्न आग्रह गरे ।
‘उत्कृष्ट’ प्रतिभा क्लवको पोल्टामा
प्र्रतियोगितामा दोस्रो भएको गोलबजार प्रतिभा क्लवलाई नगर उपप्रमुख रेशमकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत अनन्त पौड्यालले नगद एक लाख १५ हजारसहित ट्रफी वितरण गरे । प्रतियागिता अवधिमा प्रतिभा क्लवका कप्तान निश्चल लामाले म्यान अफ द सिरिज घोषित भएसँगै नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् । प्रतिभा क्लवकै सफल लामा, सागर श्रेष्ठ, किरण लामालाई क्रमशः उत्कृष्ट मिडफिल्टडर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स घोषित गर्दै जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र दिइएको छ ।


प्रतियोगितामा उदयीमान खेलाडी घोषित अर्जुन भारतीलाई पाँच हजार एक सय रुपैयाँ नगद र गोलबजारस्थित एबी मलमा १० हजार मूल्य बराबरको सपिङ् अफर दिइएको छ भने बीरगंज युनाईटेडका कृपाकान्त चौधरीले प्रतियोगिता अवधिभमा सर्वाधिक चार गोल गरी सर्वाधिक गोलकर्ता घोषित भएका छन् । चौधरीलाई पनि पाँच हजार एक सय नगदसहित प्रमाणपत्र दिइएको छ । फाइनल प्रतियोगितामा म्यान अफ द म्याच घोषित विवेक चौधरीलाई एवी मलका प्रतिनिधि पिन्टु राउतले नगद तीन हजार रुपैयाँ नगदसहित प्रमाण पत्र दिइएको छ ।
गोलबजार नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा १७ माघदेखि भएको गोल्ड कपमा प्रदेश १, मधेस र बागमती प्रदेशका गरी १० वटा फुटबल क्लवहरुको सहभागिता थियो ।