सप्तरी । प्रहरीले सप्तरीको पूर्र्वी दक्षिणी भागमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा मलहनियाँमा किराना पसलमा चोरी गरिएका सामानसहित दुई बालकलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार १२ माघको बिहान करिब २ बजेतिर स्थानीय ज्ञानी साह सुडीले आफ्नै घरको आँगनमा चलाएको कृष्ण जेनरल स्टोर्स किरना पसलमा चोरी भएका सामानसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु उमेर नपुगेकाले प्रहरीले नाम भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा डिएसपी माधव प्रसाद काफ्लेका अनुसार पीडित सुडीले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी र प्रहरी चौकी रामपुरमल्हनिया समेतको संयुक्त टोलीले खोजतलाशको क्रममा किराना पसलबाट चोरिएका सामान, गरगहना र नगद समेत बरामद भएको छ ।
रिचार्ज कार्ड, नगद र गरगहना बरामद
डिएसपी काफ्लेका अनुसार चोरीका सामानसहित पक्राउ गरिएका दुई जना विरुद्ध चोरीको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले एनसेलको एक सय रुपैयाँ दरको एक सय ४० थान, ५० रुपैयाँ दरको एक सय ३९ थान, एनटिसीको एक सय रुपैयाँ दरको एक सय एक थान र ५० रुपैयाँ दरको एक सय २० थान रिचार्ज कार्ड बरामद भएको जनाएको छ ।
त्यस्तै, एक हजार रुपैयाँ दरको १५, पाँच सय रुपैयाँ दरको ११, एक सय रुपैयाँ दरको ६७, ५० रुपैयाँ दरको एक सय ९०, २० रुपैयाँ दरको एक सय ६६, १० रुपैयाँ दरको एक सय ४६ र पाँच रुपैयाँ दरको एक सय ६० थान नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले घरमा लुकाएर राखेको विभिन्न दरका भारतीय रुपैयाँ छ हजार दुई सय ७० रुपैयाँ समेत बरामद गरिएको छ ।
प्रहरीले खेजतलाशको क्रममा चोरी गरी लुकाएर राखिएका आठ तोला दुई आना तौल बराबरको फुली, मंगलसुत्र, औठी, हनुमानी, कुण्डल, चाँदी जस्तो देखिने ४३ तोला तौलको हातको कल्ली, सिक्री र चाँदीका टुक्राहरु बरामद भएको जनाएको छ ।