राजविराज जेसीजको आफ्नै वेबसाइट सुरु

सप्तरी । राजविराज जेसीजले आफ्नो वेबसाइट सुरु गरेको छ । जिल्ला सदरमुकाम राजविराजस्थित जेसीज भवनमा बुधबार आयोजित ४७ औं पदस्थापन समारोहमा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्दप्रसाद सिंहले वेबसाइटको शुभारम्भ गरेका हुन् ।
दुई वर्ष अघि नै वेबसाइट संचालन गरी जेसीज सम्बन्धी कामहरु पेपरलेस बनाउँदै लैजाने निर्णय अनुरुप वेबसाइटको निर्माण पूरा भएको महासचिव विप्लब आनन्दले बताए । ‘परिवर्तनका लागि गरिएका हरेक कार्यहरुको संरक्षण गर्नु नयाँ पुस्ताको जिम्मेबारी हो’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले भने ‘इतिहासको संरक्षणले अघिल्लो पुस्ताको सम्मानका साथै भविष्यमा फाइदा हुन्छ ।’ पछिल्लो समय समाजका विभिन्न क्षेत्रमा असल काम गरिरहेका व्यक्तिहरु कुनै बेला जेसीजमा क्रियाशील रहेका व्यक्तिहरु नै रहेको स्मरण गर्दै
सिंहले जेसीज हुनुमा गर्व गर्नुपर्ने औंल्याए ।
राजविराज जेसीजका पूर्व अध्यक्ष एवम् इन्सेक प्रतिनिधि मनोहर पोखरेलले युवाहरुलाई उपयुक्त अवसर उपलब्ध गराई अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने र सक्षम बनाई असल नागरिक बनाउने दायित्व जेसीजले पुरा गर्दै जानुपर्ने खाँचो औंल्याए । राजविराज जेसीजका पूर्व अध्यक्ष तथा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले समाजलाई समृद्ध गर्ने उद्देश्यले ४७ वर्ष अघि स्थापना भएको राजविराज जेसीजका सदस्यहरुले आफ्नो भूमिका र महत्व पुष्टि गर्नुपर्ने बेला आएको बताए ।
पद हस्तान्तरण तथा पदस्थापना
जेसीज २०२२ का लागि निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा पदास्थापन गरिएको छ । निर्वाचन संयोजक राजविराज जेसीज २०२० का अध्यक्ष पुनम पोखरेलले अध्यक्ष राजेश मण्डल, कार्यकारी उपाध्यक्षहरु मनिष दास, पंकज देव तथा उपाध्यक्षहरु विक्रम काबरा, रवि राय, सुनित मुन्ना र सौरभ झा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।
नेतृत्व र व्यक्तित्व विकास गराउन जेसीज सक्षम रहने विश्वास व्यक्त गर्दै राजविराज जेसीजका नवनिर्वाचित अध्यक्ष मण्डलले कार्यसमितिको कानुनी सल्लाहकारमा उज्जवल काबरा, महासचिवमा विप्लब आनन्द र कोषाध्यक्षमा रञ्जना चौधरी तथा सल्लाहकारमा मनोहर पोखरेल र सन्तोष सिन्हालाई मनोनयन गरेको घोषणा गरे ।