त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९ माघदेखि हुने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार सम्पन्न बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
७ र ८ माघ (शुक्रबार र शनिबार) लिने तयारी गरिएको प्रवेश परीक्षा भने यथावत् रहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार शुक्रबार र शनिबारको प्रवेश परीक्षापछि हुने पूर्व निर्धारित परीक्षाहरु अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरिएको छ।
त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा लिंदैछ । त्रिविले तीन वर्षे एलएलबीको तेस्रो वर्षको १० माघ र १३ माघदेखि नयाँ पाठ्यक्रम अनुसार पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।