प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम

धनुषा । संघीयता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, मधेस प्रदेशको स्थापना लगायतका मागसहित १५ वर्षअघि सिरहाको लहानबाट शुरु भएको मधेश विद्रोहको मुख्य मागको रुपमा रहेको मधेस प्रदेश स्थापना भएको छ ।
प्रदेश २ सभामा सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित ९९ प्रदेशसभा सदस्यमध्ये ८० जनाले प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेपछि मधेस प्रदेश कायम भएको हो । प्रदेश सभाको मतदानले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने प्रस्ताव समेत पारित छ । प्रदेशसभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा दुईतिहाइ बहुमतका लागि आवश्यक ७० भन्दा बढी आठ मत परेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा गठन भएको चौथो वर्षपछि नाम र राजधानीको टुंगो लागेपछि प्रदेशभरी खुशीयाली र छिटफुट विरोध समेत भएका छन् ।
पाँच प्रदेशसभा सदस्य अनुपस्थित
प्रदेशसभा सचिवलायका अनुसार प्रदेशसभा सदस्यहरु डिल्लीप्रसाद उप्रेती, गोविन्दबहादुर न्यौपाने, शोभा लामा, अनिता कुमारी यादव र डा. रिना यादव प्रदेश नामाकरण र राजधानीका लागि भएको मतदानमा अनुपस्थित रहे । मतदानमा अनुपस्थित उप्रेती सर्लाही निर्वाचन क्षेत्र ३ (१) बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भई हाल नेकपा एकीकृत समाजवादीमा छन् ।
त्यस्तै, सप्तरी निर्वाचन क्षेत्र ४ (१) बाट एमालेबाट निर्वाचित भई हाल नेकपा एकीकृत समाजवादीमै रहेका सांसद गोविन्दबहादुर न्यौपाने व्यक्तिगत काम विशेषले विदेशमा रहेकाले प्रदेशसभाको मतदानमा उपस्थित हुन नसकेको जनाइएको छ । बाराकी कांग्रेस समानुपातिक सांसद लामा, धनुषाकी नेकपा एमाले समानुपातिक सांसद अनिताकुमारी यादव र महोत्तरीकी जसपा सांसद डा. रिना यादव पनि प्रदेशसभामा अनुपस्थित थिए ।
प्रदेश सरकारको राजपत्र अनुसार ५ माघ (बुधबार) बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको छ भने ३ माघमा प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ घोषणा भएको ऐतिहासिक एवम् सुखद् उपलक्ष्यमा सम्पूर्ण प्रदेशवासीहरुमा बधाई ज्ञापन गर्दै ४ माघमा प्रदेशभर सार्वजनिक विदा दिएको थियो ।