सप्तरी । जिल्लाको पूर्वी भेगमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका ६ स्थित कोशी नहरमा शुक्रबार साँझ माटो ओसार्ने ट्याक्टर पल्टिंदा नहरमा डुबेका युवक शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् ।
ट्याक्टर पल्टिंदा नहरमा डुबेर मृत्यु भएका स्थानीय करिब २३ वर्षीय धिरज सदाको शव प्रहरीले शनिबार बिहान करिब साढे ८ बजे बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
नहरको बाटो हुँदै माटो ओसारिरहेको स.१त २७६ नम्बरको ट्याक्टरका चालक शुक्रबार अपरान्ह करिब ४ बजेतिर खाजा खान हिंडेपछि सोही ट्याक्टरमा मजदुरी गर्दै आएका सदा आफैंले चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको ट्याक्टर पल्टिएर नहरमा डुबेपछि सदा समेत डुबेका थिए । नहरमा डुबेको ट्याकटर निकालेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।