सिरहा । विभिन्न पेशा र व्यवसायमा संलग्न युवाहरुको सकृयतामा १३ वर्षअघि विधिवत् रुपमा स्थापना भएको समग्र बचत तथा ऋण सहकारी संस्था लि. लहानको १३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । लहानमा आयोजित साधारणसभामा संस्था संचालक समिति, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, शेयर सदस्य, बजार प्रतिनिधिहरुको सहभागिता थियो ।
साधारणसभामा कसले के भने ?
साधारणसभाको उद्घाटन गर्दै प्रदेश २ का प्रदेशसभा सदस्य लगनलाल चौधरीले सहकारीले शेयर सदस्यहरुले गरेको लगानी अनुसार जीविकोपार्जन गर्न सघाउने गरी आर्थिक गतिविधि गर्नुपर्ने औंल्याए । घरायसी कामधन्दा बढी गर्नुपर्ने महिलाहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै प्रदेशसभा सदस्य चौधरीले भने ‘संस्थाको आर्थिक प्रतिवेदन अनुसार ऋण असुली कमजोर देखिएकाले त्यसमा थप मिहेनत गर्नुपर्छ ।’
धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले सहकारीको लगानी र प्रतिफलको अनुपात त्यति राम्रो नदेखिएको चर्चा गर्दै अन्य सहकारीको तुलनामा समग्र पृथक देखिनु पर्ने बताए । ‘समाजका विभिन्न क्षेत्रमा विषयगत दख्खल राख्ने व्यक्तिहरुले संचालन गरेको समग्रले उत्पादनको क्षेत्रमा पनि हात हाल्नुपर्छ’ प्रमख चौधरीले भने ‘बचत संकलन, ऋण लगानी, असुलीको काम त अन्य सहकारीले पनि गरिरहेकै छन् नि ।’
लहान नगरपालिकाकी उपप्रमुख सरियारकुमारी चौधरीले मुलुक संघीय संरचनामा गईसकेपछि स्थानीय तहले हेर्नु पर्ने सहकारी क्षेत्रलाई त्यति ध्यान दिन नसकिएको स्वीकारिन् । ‘सहकारी सम्बद्ध अन्य निकायले सहकारी संस्थाहरुलाई जति ध्यान दिए छन्, जनताको दैनिकीसँग जोडिएका धेरै काम गर्नुपर्ने हुँदा स्थानीय तहले हेर्न नसकेको यथार्थ हो’ उपप्रमुख चौधरीले भनिन् ‘त्यसैले, स्वयम् सहकारीका संचालक, शेयर सदस्यहरु कृयाशील रहँदै स्थानीय तहलाई पनि घच्घच्याउनु पर्छ ।’
लहानस्थित राष्ट्रिय सहकारी बैंकका प्रबन्धक समिर श्रेष्ठले सहकारीको विकासका लागि शेयर सदस्य, संस्थाका पदाधिकारी तथा उपसमिति र कर्मचारी गरी तीन पक्षको एकता जरुरी रहेकाले विशेष ध्यान दिन आग्रह गरे । सहकारीको मुनाफा बढाउन शेयर सदस्यको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रबन्धक श्रेष्ठले भाका नाघेको ऋण असुलीमा तदारुकता देखाउनु पर्ने बताए ।
महिला मानवअधिकार रक्षक संजालकी केन्द्रीय अध्यक्ष समेत रहेकी महिला अधिकारकर्मी श्यामकुमारी साहले आर्थिक रुपमा परनिर्भर महिलाहरु बढी हिंसामा परेको बताईन् । ‘त्यसैले महिलालाई आर्थिक उपार्जन हुने काममा जोड्न सकिए आर्थिक रुपले आत्मनिर्भर बन्नुका साथै हिंसा र विभेद घट्न सक्छ ।’
डेढ करोड बढी लगानी
साधारणसभाको बन्द सत्रले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन गरेको छ । कोरोना महामारीको समयमा पनि सहकारीले आफूलाई बचाउँदै आर्थिक गतिविधि गर्नुपर्दा मुनाफा केही कम देखिएको भएपनि समग्रमा मुनाफा तत्कालीन परिस्थिति अनुसार सन्तोषजनक रहेको औंल्याइएको छ ।
उक्त आ.व.मा सहकारीमा एक करोड ४७ लाख ६० हजार निक्षेप संकलन भएको र ९५ लाख ५४ हजार रुपैयाँ लगानीमा प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार लगानीमा रहेको ऋणको ८९ लाख ५३ हजार रुपैयाँ साँवा तथा २५ लाख ७९ हजार रुपैयाँ ब्याज असुली रहेको छ ।
संस्थाले चालु आ.व. २०७८/०७९ को साउनदेखि मंसिर मसान्तसम्म एक करोड २७ लाख ५८ हजार निक्षेप संकलन गरी ३८ लाख ९५ हजार रुपैयाँ लगानी गरेको र साँवा ब्याजसहित ४३ लाख ६१ हजार रुपैयाँ असुली गरेको प्रतिवेदनमा जनाइएको छ । बन्द सत्रले व्यवस्थापक अम्बराज मिश्रको प्रस्तावमा साधारणसभा सभा सम्बन्धी माइन्युट प्रमाणीकरणका लागि १३ जनाको नाम छनौट गरेको अध्यक्ष देवराज पोखरेलले बताए ।