जनमत पार्टीका कार्यकर्ता रिहासँगै स्थानीय प्रशासनले हटायो निषेधाज्ञा

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले औरही गाउँपालिकामा गहुँको बिउ लुटपाटसहित आन्दोलनको क्रममा सवारी साधन आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका सिके राउत नेतृत्वको जनमत पार्टीका १८ जनालाई मंगलबार साँझ रिहा गरेको छ ।
सिरहा प्रहरीले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै गहुँको बिउ भण्डारण गरेको गोदाममको ताला फोडेर लुटपाट गरेको आरोपमा पक्राउ गरी आपराधिक उपद्रव मुद्दा चलाइएका मिथिलेश यादवसहित १८ जनालाई रिहा गरिएको जनाएको छ । यादवलाई गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी र प्रहरीमा दिएको जाहेरीको आधारमा आपराधिक उपद्रव मुद्दामा पक्राउ गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । ‘पक्राउ गरिएका यादवलाई अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट म्याद थप गरिएको थियो’ विज्ञप्तिमा भनिएको छ ‘अदालतको आदेशमा यादवलाई मंगलबार साँझ साधारण तारेखमा रिहा गरिएको छ ।’
यादवलाई पक्राउ गरी मुद्दा चलाइएपछि उक्त पार्टीले त्यही निहुँमा गत आइतबारदेखि जिल्लाका विभिन्न भागमा मशाल जुलुशसहित तीन दिनसम्म आमहड्ताल, पूर्व पश्चिम लोकमार्गमा अवरोध गरी जनजीवनलाई त्रसित बनाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ । त्यही क्रममा एक ट्रकमा आगजनी र १९ सवारी साधनमा तोडफोड गरी प्रहरीमाथि हुलहुज्जत र हातपात गरेको घटनामा संलग्न १७ जनालाई पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुर मुद्दामा अनुसन्धान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो सम्पन्न कृयाशील राजनीतिक दलका प्रतिनिधिहरुसँगको बैठकमा पक्राउ गरिएकाहरुलाई रिहा गरी निषेधाज्ञा फिर्ता गरिनु पर्ने कुरा उठेपछि पक्राउ गरिएका १७ जनालाई हाजिरी जमानीमा छोडिएको विज्ञप्तिमा जनाइएको छ । बैठकपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त विज्ञप्तिमार्फत् प्रतिकूल अवस्थाको सामान्यीकरणका लागि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएकाहरुलाई रिहा गरी निषेधाज्ञा फिर्ता लिन माग गरेका थिए ।
राउतको अभिव्यक्तिप्रति प्रहरीद्वारा खेद व्यक्त
सवारी साधनमा आगजनी र तोडफोडमा संलग्न रहेको भन्दै पक्राउ गरी थुनामा राखिएकाहरुको सन्दर्भमा जनमत पार्टीका अध्यक्ष सिके राउतले फेसबुकमार्फत् लगाएको लाञ्छना र भ्रमपूर्ण अभिव्यक्तिप्रति सिरहा प्रहरीले विज्ञप्तिमार्फत् खेद व्यक्त गरेको छ । पक्राउ गरी हिरासतमा राखिएका सबैलाई कानुन बमोजिम मानवोचित व्यवहार एवम् सुरक्षा प्रदान गरी मानवअधिकारको मापदण्ड अनुसार मानवीय व्यवहार गरिएको खाने, बस्ने, ओढ्ने, ओछ्याउने समेतको समुचित व्यवस्था गरिएको भएपनि राउतले भ्रमपूर्ण अभिव्यक्ति सार्वजनिक गरेकोे भन्दै प्रहरीले खेद व्यक्त गरेको हो ।
प्रशासनले हटायो निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय सिराहाले मंगलबार बिहानदेखि जारी गरेको निषेधाज्ञा साँझदेखि हटाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मका लागि मंगलबार र बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्र, चोहर्वादेखि जिल्ला सदरमुकाम सिराहा पि.के इन्टरप्राइजेज (पेट्रोल पम्प) सम्मको सडक र उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्रमा जारी गरेको निषेधाज्ञा मंगलबार साँझ हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा जारी सूचनामा उल्लेख छ ।
निषेधित क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिंडडुल गर्न तथा राजनीतिक सभा गर्न बन्देज गएिको भएपनि मंगलबार दिनभरजसो जनमतका कार्यकर्ताहरुले मिर्चैयमा सडकमै टायर बालेर प्रदर्शन गरेका थिए ।