जुम्लाका करीब ६ हजार बालबालिकालाई खोप

जुम्ला । कर्णली प्रदेशको जुम्लामा जिल्लाका विभिन्न भागका पाँच हजार आठ सय ६९ बालबालिकाललाई कोरोना– १९ विरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लाका २० हजार बालबालिकालाई कोभिड– १९ विरुद्धको उक्त खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
प्रमुख सापकोटाका अनुसार जिल्लाको एक नगरपालिकासहित सात वटा स्थानीय तहका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीको तथ्यांक संकलन गरी कोरोना विरुद्ध मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख सापकोटाले उल्लेख गरे । ।
जुम्लाको चन्दननाथ नगर क्षेत्रभित्रका तीन हजार आठ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लिइएकोमा मंगलबारसम्म दुई हजार दुई सय ३२ बालबालिकालाई खोप लगाइएकोस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । माग अनुसार खोपको डोज प्राप्त नभएकाले बालबालिका खोप लगाउन छुट्ने तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए । थप खोपका लागि माग गरिएको शाहीले बताए ।
जिल्लाको तातोपानी गाउँपालिकामा पाँच सय ४१, गुठीचौरमा तीन सय ६९, पातारासी गाउँपालिकामा एक हजार आठ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको छ ।
ट्युसन सेन्टरमा पनि खोप
विभिन्न ठाउँमा संचालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई समेत मोर्डना खोप लगाइने भएको छ । नगर क्षेत्रका पाँचवटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महतले बताए । ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई आगामी पुस २४ गतेसम्म अनिवार्य मोर्डना खोप लगाउने निर्णय गरिएको छ ।
विद्यालयमा खोप लगाउन छुटेका १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन आफू अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रह समेत गरिएको स्वास्थ्य संयोजक महतले उल्लेख गरे । जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएकोमध्ये आठ स्थानीय तहमा १२ हजार दुई सय ५० डोज खोप वितरण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।