सप्तरी । जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण भएको छ । संघीय सरकारको सहयोगमा अस्पताल परिसरमा स्थापना गरिएको अक्सिजन प्लाण्टको आइतबार सफल परीक्षण भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रंजित झाले बताए ।
परीक्षण सफल भएको प्लाण्टबाट दैनिक दुई सय ८० देखि दुई सय ९० वटा सिलिण्डर अक्सिजन आपूर्ति गर्न सकिने डा. झाले बताए । परीक्षण सफल भएको प्लाण्टले काम गर्न छोडे या अक्सिजन बढी आवश्यक परेको खण्डमा बिकल्पको रुपमा लिक्विड प्लाण्ट समेत आगामी दुई/ तीन दिनभित्र संचालन हुने उनले बताए ।
यसअघि अस्पतालमा १५ वटा भेन्टिलेटरसहितको १५ शैय्याको आईसीयू र चारवटा भेन्टिलेटर भएको एनआईसीयू संचालनका लागि सम्पूर्ण तयारी भइसकेको डा. झाले उल्लेख गरे । उनका अनुसार अस्पतालमा २५ शैय्याको अत्याधुनिक एचडियु (हाइ डिपेन्डेन्सी युनिट) समेत संचालनमा रहेको छ ।