राज कुमार राउत
लहान । लहानस्थित जिल्ला ट्राफिक कार्यालय सिरहाले चालु आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो पाँच महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने १७ हजार चार सय साना तथा ठूला सवारी साधनहरुलाई कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई गरिएको कारबाहीमा एक करोड ३१ लाख ६४ हजार रुपैयाँ जरिबाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दानबहादुर म्रिङ्चिङ् मगरले बढ्दो सवारी दुर्घटना र मानवीय क्षतिलाई कम गर्न जिल्ला ट्राफिक प्रहरीलेसवारी दुर्घटना न्यूनीकरण अभियान संचालन गरिरहेको बताए ।
ट्राफिक प्रहरी निरीक्षक म्रिङ्चिङ्का अनुसार चालु आ.व.को साउनदेखि मंसिरसम्म बन्दिपुर, मिर्चैया, गोलबजार, सिरहा, माडर, धनगढी, सुखीपुर, लहान लगायतका स्थानहरुमा आकस्मिक चेकजाँचमार्फत् दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १७ हजार आठ सय सवारी साधानहरुलाई कारबाही गरी जरिबाना असुल गरिएको हो । उनका अनुसार अभियानले पूर्व पश्चिम र सहायक तथा भित्री सडकहरुमा हुने सवारी दुर्घनामा कमी आएको छ ।
सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत पैदल यात्रुहरुका लागि राजमार्गमा जेब्राक्रस निर्माण, छाडा चौपाया नियन्त्रण, विद्यार्थी र सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतामूलक कार्यक्रमहरु गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो आर्थिक वर्ष ट्राफिक नियमको उल्लंघन गर्ने ६९ हजार सवारी साधनहरुलाई कारबाही गरिएको थियो ।