सिरहा । १६ औं गणतन्त्र दिवसको अवसरमा सोमबार सिरहा कारागारमा विभिन्न आठ प्रकारका मुद्दामा कैद भुक्तान गरिरहेका १८ जना कैदीको बाँकी सजाय माफी भएपछि कैद मुक्त भएका छन् ।
कारागार कार्यालय सिरहाका अनुसार गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले पठाएको पत्र अनुसार १८ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी गरिए बमोजिम कारागार मुक्त गरिएको हो । सिरहा कारागारका जेलर भवेश झाका अनुसार बाँकी कैद सजाय माफी पाएका कर्तव्य ज्यान मुद्दाका दुई, बहुविवाहका तीन, चोरी एक, नकवजनी चोरी एक, बोक्सी आरोप सम्बन्धी मुद्दाका एक जना कैदीलाई छोडिएको छ ।
त्यस्तै, सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी मुद्दाका एक, सवारी अंगभंग सम्बन्धी मुद्दाका एक र सवारी ज्यान मुद्दाका आठ जनाको बाँकी सजाय माफी भएपछि छोडिएको जेलर झाले बताए । उनका बाँकी कैद सजाय माफी पाउनेमा अनुसार कर्तव्य ज्यान मुद्दा अन्तर्गत सर्वोच्च अदालतको फैसला अनुसार १४ र २३ माघ २०७९ देखि कारागारमा रहेका सिरहाको सुखीपुर नगरपालिका ८ का रामनिरञ्जन यादव तथा सुखीपुर १० का सोनफी यादव छन् ।
उच्च अदालत जनकपुर, राजविराज इजलाशको फैसला अनुसार १२ भदौ २०७९ देखि बहुविवाहको मुद्दाका कैदी लहान नगरपालिका १५ का रविन्द्रप्रसाद साह, लक्ष्मीपुरपतारी गाउँपालिका ३ का सुरेन्द्रकुमार दास, ४ का कपिलदेव दास पनि बाँकी कैद साजय माफी पाएपछि कारागार मुक्त भएका छन् भने बोक्सीको आरोप सम्बन्धी मुद्दा अन्तर्गत २२ पुस २०७८ देखि कैदी रहेका लहान २३ का राजिन्दर सहनीको पनि बाँकी कैद साजय मिनाहा भएपछि छुटेको कारागार कार्यालयले जनाएको छ ।