आफ्नै बाबुको हत्या गरी फरार रहेका छोरा पक्राउ

सप्तरी । आफ्नै बाबुको हत्या गरी फरार रहेका छोरालाई सप्तरी प्रहरीले खोजतलासको क्रममा तीन वर्ष नौ महिना १० दिनपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको पूर्वी क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका १४ घर भएका ३४ वर्षीय देवकुमार रामलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले १ फागुनमा पक्राउ गरेको हो । जग्गा जमिनको विषयमा विवाद हुँदा २१ वैसाख २०७६ मा रामले कुटपिट गर्दा ६५ वर्षीय बाबु जगदिश रामको मृत्यु भएपछि फरार रहँदै आएका थिए ।
कुटपिटपछि बाबुको मृत्यु भए लगत्तैदेखि फरार रहेका उनलाई पक्राउ गरेपछि जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान थालिएको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
खोजतलास तीब्र, फरार रेहका १६ पक्राउ
जिल्ला अदालतबाट कैद, दण्ड जरिबानाको फैसला भई फरार रहेका कुटपिट, गाली बेइज्जती, लागूऔषध तथा परीक्षा सम्बन्धी मुद्दाका तीन महिलासहित १६ जनालाई पक्राउ गरी अदालतमा दाखिला गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शम्भुनाथ जगरपालिका ४ का महावीर साहु, डाकनेश्वरी नगरपालिका ३ का अशोककुमार साह, लक्ष्मीप्रसाद साह, जगतारनीदेवी साह, राजगढ गाउँपालिका ५ का महेन्द्र मुखिया, कुशमीदेवी मुखिया, खडक नगरपालिका २ का ४३ वर्षीय रामा भन्ने रामनाथ मण्डल, ५२ वर्षीय रामकमार मण्डल, ४६ वर्षीय बिल्टु भन्ने रामु मण्डललाई कुटपिट सम्बन्धी मुद्दा फैसला कार्यान्वयनको क्रममा पक्राउ गरी अदालतमा दाखिला गरिएको हो ।
त्यस्तै, रुपनी गाउँपालिका २ का २५ वर्षीय अनिलकुमार इशर परीक्षा सम्बन्धी मुद्दा, राजगढ गाउँपालिका १ का २० वर्षीय जितेन्द्र कुमार यादव र खडक नगरपालिका ३ का ज्योतिष कुमार चौधरी लागूऔषध, कंचनरुप ११ का मो. कासिम मियाँ लिखित गाली बेइज्ज्ती, डाकनेश्वरी ९ की रुकमणीदेवी झा र जागो भन्ने जागेश्वर साहलाई गाली बेइज्जती मुद्दाको फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरी अदालत दाखिला गरिएको प्रहरीले जनाएको छ ।