सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, कारागार चलान

सप्तरी । सवारी ज्यान मुद्दा अन्तर्गत अदालतले कैद सजाय फैसला सुनाएका फरार प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरी अदालतमा बुझाएपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ बस्ने ५५ वर्षीय रेबियादेवी पासवानको जाहेरीको आधारमा चलाइएको सवारी ज्यान मुद्दामा कसुरदार शम्भुनाथ ८ का २४ वर्षीय संजयकुमार ठाकुरलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीका अनुसार २०७३ असोज ८ गते बिहान शम्भुनाथ नगरपालिका ६ स्थित पूर्व पश्चिम लोकमार्गमा ठाकुरले चलाएको मोटरसाइकलको ठक्करले पासवानकी पति ६१ वर्षीय विष्णुदेव पासवानको उपचारको क्रममा मृत्यु भएको थियो ।
ठाकुरले चलाएको स.३ प.३२२७ नम्बरको मोटरसाइकलको ठक्करले घाइते भएका पासवानको उपरचारको क्रममा मृत्यु भएपछि चलाइएको मुद्दा अन्तर्गत ठाकुरलाई सप्तरी जिल्ला अदालतको २०७५ भदौ ४ गते र उच्च अदालत जनकपुर ईजलास राजविराजको २०७६ पुस १ गतेको फैसलाले दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिबाना फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएपछि फरार रहेका ठाकुरलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरी गत चैत २९ गते अदालमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको हो ।