सप्तरी । मावली आएका बेला पोखरीमा नुहाउने क्रममा डुबेर एक नाबालकको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका २ सिमराहाका इन्द्रदेव यादवका छोरा करिब ८ वर्षीय देवराज यादवको आइतबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आफ्नो घरबाट आमासँग छिमेकी राजगढ गाउँपालिका ४ मा रहेको मावलीमा आएका यादव आइतबार दिउँसो नजिकैको सार्वजनिक पोखरीमा नुहाउन गएका थिए । पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका नाबालकलाई तत्काल उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक नाबालकको आइतबार नै पोष्टमार्टम गरी शव दाहसंस्कारका लागि सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ ।