सिरहा । धनगढीमाई नगरपालिका क्षेत्रमा आठ जना पाठेघर क्यान्सर रोगीको पहिचान र १३ जना शंकास्पद बिरामी भेटिएका छन् । धनगढीमाई ९ मुसहर्नियास्थित नयनपुर अस्पतालमा संचालित एकीकृत महिला स्वास्थ्य शिविरमा आठ जना पाठेघरको क्यान्सर रोगी महिला भेटिएका हुन् ।
नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक नेपाल र सिएमसि नेपालको अयोजनामा संचालित शिविरमा आठ जना पाठेघरको क्यान्सर रोगी र १३ जना पाठेघर क्यान्सरका शंकास्पद बिरामी पहिचान भएको नगर स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरीले बताए । स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार पाठेघर खसेर पहिलो चरणको क्यान्सर भएका ३० देखि ५० वर्ष उमेर समूहका महिलाहरुलाई नगर प्रमुख हरिनारायण चौधरीसहितको उपस्थितिमा परामर्श गरी उपचारका लागि अन्यत्र पठाइँदैछ ।
स्वास्थ्य जाँचको क्रममा पाठेघरको क्यान्सरको लक्षण देखिएका १३ जनालाई आवश्यक परामर्शसहित निःशुल्क औषधि दिएर पठाइएको र एक महनापछि पुनः अस्पतालमा जाँच गरी अवस्था अनुसार के गर्ने भन्ने यकिन गरिने उनले बताए ।
तीन सय ३३ जनाको स्वास्थ्य जाँच
स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. कुसुम यादव, जेनरल फिजिसियन डा. प्रतीक्षा मिश्रा, डा. राधेश्याम शर्मा, सिअनमि आरती सिन्हासहितको स्वास्थ्यकर्मीहरुको टोलीले महिला तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न समस्या भएका तीन सय ३३ महिलाको स्वास्थ्य जाँच गरेको उनले बताए ।
‘स्वास्थ्य जाँचको क्रममा १४ जना महिलाको पाठेर खसेको पाइएपछि शिविरमै रिङ् पेसरी लगाएर आवश्यक औषधि र परामर्श दिएर घर पठाइएको छ’ उनले भने । डा. मिश्राका अनुसार त्यसबाहेक शिविरमा सेतो पानी बग्ने, तल्लो पेट दुखेका, महिनावारी गडबडी, ढाड कम्मर दुख्ने, महिलाको मानसिक स्वास्थ्य परीक्षण गरिएको छ ।
उपचारमा नगरले सघाउने
स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर यकिन भएका आठ जनाको उपचारका लागि नगरपालिकाले सघाउने नगर प्रमुख चौधरीले बताए । ‘संघीय सरकारले उपलब्ध गराउने एक लाख बाहेक नगरपालिकाले दीर्घ तथा जटिल रोगीलाई दिंदै आएको पाँच हजार रुपैयाँमा थप सहयोग गरिने छ’ नगर प्रमुख चौधरीले भने ।
१७ चैतमा नगरमा श्रीमानसहित बोलाइएका आठ जना पाठेघर क्यान्सर पीडित महिलाहरुसँग छलफल गरी उपचारका लागि जाँदा नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने उनले बताए ।