कृषि सामग्री कम्पनीसहित १० जना तथा दुई आपूर्ति कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कम गुणस्तरको मल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका चार, गलत गुणस्तर परीक्षण प्रतिवेदन दिने पाँच जना, आपूर्तिकर्ता गरी १० जनासहित दुई कम्पनी विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
पछिल्लोे वर्ष १९ हजार चार सय ३३ मेट्रिक टन डिएपी मल आयात गर्न कम्पनीले सम्झौता नं. ८९/०७७/०७८ मार्फत् खरिद गरेको डि.ए.पि. मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको पुष्टि भएपछि प्रबन्ध संचालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्करदिप बुढा समेतको मिलेमतोमा भ्रष्टाचार गरेको आरोपसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रबन्ध संचालक भण्डारीसहित चार जनालाई आयोगले एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय छ रुपैयाँ बहत्तर पैसा बिगो दावी गरेको छ ।
गुणस्तर परीक्षण नै गलत
डिएपी मल आपूर्तिका लागि कम्पनी र आपूर्तिकर्ता बीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको आपूर्ति भएको डिएपि मललाई सर्भेयरको सूचीमा अद्यावधिकसमेत नभएको स्वतन्त्र सर्भेयरसँग बिना प्रतिस्पर्धा गुणस्तर परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार गैरकानुनी रुपमा गुणस्तर परीक्षण लगायतका कार्यहरु गर्ने गरी आयातित मल कम्पनीको स्वीकृत स्पेशिफिकेशन बमोजिम नै गुणस्तरको रहेको भन्ने गलत प्रतिवेदन तयार गराउन प्रबन्ध संचालकसहित चार जनाले आपूर्तिकर्तासँग मिलेमतो गरेका थिए ।
उक्त प्रतिवेदन नेपाल इन्भाइरोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेज प्रा.लि.का संचालक रहेका सलिल देवकोटा, ल्याव निर्देशक रहेका सुनिलबाबु खत्रीले सर्भेयर तथा परामर्शदाता परिचालन गरी गलत प्रतिवेदन तयार गर्न लगाएका थिए । ल्याव निर्देशक खत्री स्वयम् प्रयोगशाला परीक्षण कार्यमा संलग्न नभएपनि गुणस्तर परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय तथा कम्पनी कार्यालयमा प्रतिवेदन पठाएको र मनोज आचार्यमार्फत् सम्झौता गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गलत प्रतिवेदन तयार गर्ने उक्त प्रा.लि.का संचालक देवकोटा, ल्याव निर्देशक खत्रीसहित सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी, मनोज आचार्य समेतबाट एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय छ रुपैयाँ बहत्तर पैसा बिगो दावीसहित मुद्दा दायर गरिएको हो ।
आपूर्तिकर्ता समेत तानिए
कम्पनी र आपूर्तिकर्ताको मिलेमतोमा ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गरेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त प्रयोगशाला प्रतिवेदनबाट प्रमाणित भएपछि कृषि सामग्रीलाई हानि नोक्सानी पुर्याएको जोशी बिज हाउस काठमाडौंका संचालक विनित जोशी र कम्पनी पनि मुद्दामा तानिएको छ । जोशीले गैरकानूनी लाभका लागि कम्पनीको स्वीकृत स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गरी गलत प्रतिवेदनको आधारमा ९० प्रतिशतले हुन आउने रकम एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय छ रुपैया बहत्तर पैसा भुक्तानी लिई ठेक्का सम्झौता बमोजिमको शर्त उल्लंघन गरेको आरोपमा उक्त रकमको बिगो माग दावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।