काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कप नपालले हात पारेको छ ।
ढाकामा सम्पन्न फाइनल भिडन्तमा साविक विजेता उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । पहिलो सेट नेपालले २६–२४ ले जितेको भएपनि दोस्रो सेटमा उज्वेकिस्तान २६–२४ ले नै विजयी भयो । तेस्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–१५ ले विजयी भएको नेपाललाई चौथो सेटमा फेरि उज्वेकिस्तानले २४–२२ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्याएको थियो । खेलको निर्णायक पाँचौ सेट १५–१० ले जित्दै नेपाल च्याम्पियन भएको हो ।
प्रतियोगिताको फाइनलमा पुग्ने क्रममा अपराजित रहेको नेपालले समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको थियो । श्रीलंका विरुद्धको पहिलो खेलमा सुरूवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गरेर ३–२ को जित हात पारेको थियो । समूह चरणमा नेपालले श्रीलंका विरुद्ध बाहेक अन्य टिमसँग कुनै सेट पनि गुमाएको थिएन । त्यसपछि नेपालले बंगलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएपछि नेपालले सन् २००६, २०१० र २०१६ को सागमा कास्य पदक हात पारेको थियो । नेपाली महिला भलिबल टिमले सन् २०१४ मा काठमाडौंमा आयोजित दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक हात पारेका थियो ।