सप्तरीको सुरुङ्गा नगरपालिका ३ नं. वडा बालमैत्री घोषणा

सप्तरीको सुरुङ्गा नगरपालिका ३ नं. वडा बालमैत्री घोषणा गरिएको छ । ‘बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरुङ्गाको आधार’ भन्ने नारासहित ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो ।
दौलतपुरस्थित जनप्रभात मा.वि.को प्राङ्गणमा आयोजित समारोहमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले सुरुङ्गा ३ का वडाध्यक्ष किरण पोखरेललाई ब्यानर हस्तान्तरण गर्दै बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम सुरुङ्गा नगरपालिका ३ (पूर्वमा चहकाकोरिया गाउँ, पश्चिममा बलान खोला, उत्तरमा चहका खोला र दक्षिणमा सुखलाही खोलाभित्रको क्षेत्रलाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री वडा घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले समाज र मुलुकका लागि सक्षम नागरिक बनाउन बालमैत्री घोषणाका सूचकहरु पूर्ण रुपमा पालना गरिनु पर्नेमा जोड दिए । ‘समाजका लागि योग्य नागरिक बनाउन बालमैत्री शासन अन्तर्गतका सूचकहरु पालना गर्न गराउन सबैको भूमिका रहनु पर्छ’ उनले भने ।
बालमैत्री वडा घोषणा समारोहमा सरुङ्गाका कार्यबाहक प्रमुख समेत रहेका उपप्रमुख रुद्रबहादुर कार्कीले वडा हुँदै वि.सं. २०८१ भित्र सिङ्गो नगरलाई बालमैत्री नगर बनाउने गरी काम गरिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालअधिकार अन्तर्गत पर्ने बालबालिका बचाउ, संरक्षण, सहभागिता र विकासका लागि स्वास्थ्य, शिक्षा र विद्यालय तहमा योजना बमोजिम काम भइरहेको उल्लेख गरे । सुरुङ्गाका पूर्व नगर प्रमुख मुक्तिनाथ चौधरीले समृद्ध नगर बनाउन नयाँ पुस्तालाई लागूऔषध, धुम्रपान र मद्यपानबाट जोगाउन काम गरिनु पर्नेमा जोड दिए ।


जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, सामाजिक विकास समितिका संयोजक तथा ४ नं. का वडाध्यक्ष देवेन्द्र प्रसाद चौधरी, जिल्ला बाल क्लव संजालकी संयोजक सलमा खातुन, सेभ द चिल्ड्रेनका दिपक बुढाथोकी, सवल नेपालका परमेश्वर झा लगायतले बालमैत्री वडा घोषणापछि झनै वडाका जनप्रतिनिधिसहित सर्वसाधारणको दायित्व बढेको बताए । समारोहमा बालमैत्री वडा घोषणाका लागि तय गरिएका ५३ सूचक प्राप्तिमा उल्लेखनीय भूमिका निर्वाह गरेका स्थानीय बाल क्लव, महिला स्वास्थ्य स्वयम्सेविका, महिला विकास समूहका प्रतिनिधिहरुलाई सम्मानित गरिएको थियो । घोषणा समारोहमा विभिन्न बाल क्लवका बालबालिकाहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।
के हो बालमैत्री शासन ?
सुरुङ्गा नगरपालिकाकी महिला विकास निरीक्षक रिङ्कु कुमारी यादवका अनुसार बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम बाल बचाउ, बाल संरक्षण, बाल विकास तथा अर्थपूर्ण बाल सहभागिताका क्षेत्रका सूचकहरु प्राप्तिका लागि तोकिएका गतिविधिहरु संचालन गरिन्छ ।
त्यसका लागि गर्भवती महिलाको स्वास्थ्य चौकीमा नियमित जाँच, विभिन्न खोप तथा चक्की सेवन, स्वास्थ्य संस्थामा प्रसूती गराउनेदेखि बच्चा जन्मिएपछि निश्चित उमेरसम्म स्तनपान, खोप, आयो नुनका प्रयोग, बालबालिकाको, समुदायमा आधारित बालसंरक्षण प्रणालीको स्थापना र संचालन, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायत ५१ वटा सूचकमा काम गरिनु पर्ने उनले बताइन् ।