गिरी वर्तमान र भावी पुस्ताका लागि प्रेरणाका श्रोत : प्रधानमन्त्री दहाल

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदिप गिरी वर्तमान र भावी पुस्ताका लागि समेत विचार, चिन्तन र प्रेरणाको श्रोत रहेको बताएका छन् ।
सिरहाको लहान नगरपालिका १४ बस्तपुरस्थित आश्रममा शुक्रबार दिउँसो आयोजित समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका पूर्व नेता दिवङ्गत प्रदिप गिरीको पूर्ण कदको शालिक अनावरण र ‘मैले चिने, जाने, बुझेको प्रदिप गिरी स्मृति ग्रन्थ’ को लोकार्पणपछि प्रधानमन्त्री दाहालले गिरी नेपालको राजनीतिक तथा सामाजिक रुपान्तरण अभियानको मौलिक र विलक्षण चिन्तक रहेको औंल्याए । ‘गिरीको अन्यसँग तुलना हुनै सक्दैन’ उनले भने ‘सामाजिक र दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण गर्ने, त्यसलाई हुर्ने मौलिक दृष्टिकोणको कारणले उनलाई समाजका हरेक वर्ग, समुदाय, विभिन्न राजनीतिक दलले उत्तिकै सम्मान र भरोसायोग्य चिन्तकको रुपमा लिएका थिए ।’
गिरीको राजनीतिक आचरण, शैलीले सबैलाई उत्तिकै उर्जा मिल्ने चर्चा गर्दै उनले भने ‘शान्ति प्रकृया शुरु हुनु अगाडि पनि पटक पटक अप्रत्यक्ष संवाद भएको थियो, सशस्त्र युद्धको बेलामा आतंककारी भन्दै टाउकोको मूल्य तोकिएको समयमा पनि गिरीले माओवादी आन्दोलन राजनीतिक समस्या हो र राजनीतिक रुपले नै सम्बोधन गरिनु पर्ने विषयमा आफ्नो पार्टी, राजनीतिक मञ्चहरुमा सकारात्मक समाधानको प्रयास गर्नुभयो ।’ गिरी बिरामी हुनु अघिसम्म आफूसँग नियमित भेटघाट, छलफल हुने गरेको स्मरण गर्दै उनले भने ‘मलाई गिरीले बढी नै माया र भरोसा गर्न थाल्नु भएको थियो ।’
सिरहाको ऋण तिर्ने कबोल
संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा जिल्लाले निर्वाचित गराएर पठाएपछि दोस्रो पल्ट प्रधानमन्त्री बन्ने अवसर जुराएर आफूलाई ऋणी बनाएको उल्लेख गर्दै उनले भने ‘सिरहाली जनताले लगाएको ऋण पूरै तिर्न सकेको छैन, यो पल्ट तिर्नैपर्छ भन्ने महसूस भएको छ ।’ दिवङ्गत गिरीको सम्मान गर्न जिल्लाको भौतिक पूर्वाधारको विकासका लागि तीन वटा सडक र उनको स्मृतिमा अस्पताल स्थापनाका लागि प्रकृया अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । लहान हुँदै उदयपुरको नेपाललटार जोड्ने सडकको स्तरोन्नतिर गिरीको नाममा अस्पताल स्थापना गर्न सरकारले पहल गर्ने उनले बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजनीतिमा दलित, महिला, जनजाती, मधेसी, पछाडि पारिएको क्षेत्रको समावेशिकरण, समानुपातिक प्रतिनिधित्वका लागि गिरीले सधैं वकालत गर्दै आएको बताए । सबै वर्ग, क्षेत्र, समुदायसम्म राज्यको स्रोत साधन पुर्याउन र गिरीको आश्रमलाई उहाँको विचार, आध्याात्मिक चिन्तन गर्ने थलोको रुपमा विकास गरिए उहाँप्रति सम्मान हुने उनको थियो । उनले अर्थतन्त्र पनि सुधार हुँदै गएकाले आगामी वर्ष यो क्षेत्रमा छुटेका योजनाहरुमा बजेट दिइने प्रतिबद्धता जनाए ।
परारष्ट्रमन्त्री एन.पी. साउदले राजनीतिक चिन्तक, विचारक, दार्शनिक, लेखकको रुपमा गिरीले राजनीतिलाई जनताको आवाज अभिव्यक्त गर्ने र जनताको सेवा गर्ने माध्यम बनाएकाले सबैको मनमा बस्न सफल हुनु भएको औंल्याए ।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजनीतिमा रहेका सबै व्यक्तिहरुप्रति सूक्ष्म अध्ययनसहित जानकारी राख्ने गिरीको अरुलाई सम्मान गर्ने बानीको अनुशरण गर्नुपर्ने औंल्याइन् ।
दिवङ्त गिरीको पत्नी भारती सिलवाल गिरीको अध्यक्षतामा सम्पन्न वार्षिक सभामा, मधेश प्रदेश सरकारकी उद्योग तथा बाणिज्य मन्त्री सुनिता यादव, पूर्व मन्त्रीहरु मातृका प्रसाद यादव, अजयशंकर नायक, पदमनाराण चौधरी, संविधासभा सदस्य रामचन्द्र यादव, गिरीका भारतीय मित्र जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार लगायतले गिरीको गरिब, दलित, बिपन्न वर्गप्रतिको मोह, सादगी जीवनको चर्चा गरे ।
को हुन् प्रदिप गिरी ?
वि.सं. २००४ साल असोज २४ गते बस्तीपुरमा जन्मिएका गिरी १३ वर्षको उमेरमै २०१७ सालदेखि नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका थिए । बाबु मित्रलाल गिरी पनि कांग्रेसको राजनीतिमा सकृय भएकाले गिरीको राजनीति कलिलै उमेरबाट शुरु भएको उनलाई चिन्नेहरु बताउँछन् । निरंकुश पंचायती व्यवस्था विरुद्धको संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा करिब एक वर्ष जेल जीवन बिताएका गिरी २०२४ सालमा नेपाल छात्र संघ बनारस (भारत) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भएका गिरी ०५६ सालका निर्वाचनमा सिरहा ५ मा पराजित भएपनि पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् भए ।
२०७४ सालमा भएको निर्वाचनमा सिराहा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी कांग्रेसमा दिवङ्गत कृष्णप्रसाद भट्टराई निकटका नेताका रुपमा चिनिन्थे । भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरीका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्र लगायतका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन् । गिरीको घाँटीको क्यान्सरको कारणले ४ भदौ २०७९ काठमाडौंमा निधन भएको थियो