सप्तरी । सप्तरीमा पाँच दिनअघि १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुर सम्बधी मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पीडितले दिएको जाहेरीको आधारमा घटनामा संलग्न भएको आरोपमा कञ्चनरुप नगरपालिका १२ का ४१ वर्षीय कैलाश पोख्रेल, २० वर्षीय सुदीप भुजेल, २१ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार गत असार २९ गते राती करिब साढे १० बजेतिर पीडित किशोरीलाई भेट्न एक जना साथी आएका थिए । घरमा कुराकानी गरिरहेको अवस्थामा चार जना जबर्जस्ती आएर किशोरी र उनका साथीलाई कुटपिट गर्दै साथीलाई घरभित्र थुनेर किशोरीको मुख छोपी नजिकै रहेको घरमा सामूहिक बलात्कारपछि पुनः घरमा पुर्याएको पीडितलाई उद्धृत गर्दै उनले बताए ।
छिमेकीको घरमा पुर्याइएकी किशोरीलाई आरोपी कैलाशको आदेशमा सुदीप, मनोज र दिपेशले खुकुरी देखाउँदै सामूहिक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित किशोरीले १ साउनमा इलाका प्रही कार्यालय कञ्चनरुपमा किटानी जाहेरी दिए लगत्तै इलाका प्रहरी कार्यालय ठेलियाले आरोपीहरुलाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया थालिएको हो ।