
सिरहा । ‘निःशुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने नारासहित शिक्षाका लागि विश्वव्यवापी कार्य सप्ताह २०२३ अन्तर्गत १९ जेठमा लहानमा सार्वजनिक शिक्षा सुदृढीकरणका लागि शैक्षिक अन्तक्र्रिया कार्यक्रम गरिएको छ । एनसिइ नेपालको आयोजनामा भएको अन्तक्र्रियामा लहान, धनगढीमाई नगरपालिकाका शिक्षा शाखा संयोजक, विद्यालय श्रोत व्यक्ति, गाउँकार्यपालिका सदस्य, सामुदायिक विद्यालयमा प्रधानाध्यापक, पत्रकार तथा सामाजिक कार्यकर्ताहरुको सहभागितामा अन्तक्र्रिया गरिएको हो ।
अन्तक्र्रियामा लहान नगरका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष रमेश गौतमले बजेट बृद्धिसँगै शिक्षा क्षेत्रका लागि लहान नगरले धेरै काम गरेको दावी गर्दै भने ‘नगरका धेरै ठाउँका विद्यालयको पूर्वाधार विकास गरिएको छ, मासिक तीन लाख रुपैयाँमा घाटामा चलिरहेको नगरको दुईवटा बस बहुसंख्यक ग्रामीण क्षेत्रका विद्यार्थी पढ्ने जे.एस. मुरारका बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरिएको छ किनकी त्यो पनि नगरकै क्याम्पस हो ।’ ‘लहानमा उत्कृष्ट र स्तरीय पब्लिक क्याम्पसका लागि त्यो पनि जरुरी थियो’ उनले भने ।
लक्ष्मीपुरपतारी गाउँ कार्यपालिका सदस्य किरण रायले गुणस्तरीय सार्वजनिक शिक्षाका लागि लगानी बढाएर मात्र नहुने चर्चा गर्दै स्थानीय तहको सशर्ततर्फको बजेट समेत खर्च नभइरहेको बताए । ‘आफ्नो गाउँपालिकामा शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याइएको भएपनि स्थानीय अभिभावकको माग अनुरुपको योजना आउन नसक्दा बजेटको प्रतिफल त्यत्रि उपलब्धिमूलक रहेन’ उनले भने ‘विशेष खालको योजना बनाएर शिक्षाका लागि काम गर्नुपर्छ ।’
लहान १८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उद्धव हमालले विद्यार्थी भर्नापछि टिकाउने र बिकाउने खालको शिक्षा चाहिएको उल्लेख गर्दै भने ‘लहान नगरले शिक्षाका लागि पर्याप्त बजेट छुट्याएको छ, विद्यालय क्षेत्रमा बगैंचा व्यवस्थापन गर्न नगरले फूलका बिरुवा, माली समेत पठाएको छ ।’ भौतिक पूर्वाधारको नाममा सडकमा माटो पनि हाल्नु पर्छ तर त्यो क्रमशः बग्दै जान्छ तर शिक्षामा गरिएको लगानीले भविष्यमा प्रतिफल दिने भएकाले शिक्षामा लगानी बढाउन जरुरी रहेको औंल्याए उनले ।
लहान नगरपालिका शिक्षा शाखा संयोजक अमिरी यादवले गुणस्तरीय सार्वजनिक शिक्षाका लागि शिक्षकले पनि आफ्नो जिम्मेबारी प्रभावकारी ढंगले पूरा गर्नुपर्ने खाँचो औंल्याउँदै त्यसमा अभिभावकहरु पनि त्यतिकै जिम्मेबार बन्नु पर्ने बताए । विद्यार्थी दिवा खाजाका लागि नगरले पाँच रुपैयाँ थप गर्ने तयारी गरिरहेको चर्चा गर्दै संयोजक यादवले त्यसका लागि नियमित उपस्थित हुने वास्तविक विद्यार्थीको मात्र सूची तयार गर्नुपर्ने बताए ।
लहान नगर शिक्षा शाखाका विद्यालय श्रोत व्यक्ति मनोजकुमार यादवले नगर क्षेत्रमा पनि उत्कृष्ट सामुदायिक विद्यालय रहेको पुष्टि पशुपति आदर्श र ल.ल.कु. मा.वि.मा लिइएको प्रवेश परीक्षामा संस्थागतबाट आएका विद्यार्थी पनि अनुत्तिर्ण भएको बताए । दुवै मा.वि.मा विद्यार्थीको चाप अत्यधिक रहेको उल्लेख गर्दै श्रोत व्यक्ति यादवले स्थानीय अभिभावक, सामाजिक अगुवाको पहलमा नमूना विद्यालय बन्न सक्ने उल्लेख गर्दै उनले भने ‘उच्त स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ अनुसार शिक्षकहरुलाई १० प्रतिशत बढी सुविधा दिइनु पर्छ ।’
धनगढीमाई नगर शिक्षा शाखा संयोजक प्रदिप साहले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट अनुसारको योजनाहरु सम्पन्न भइसकेको चर्चा गर्दै नगर क्षेत्रका आठवटा विद्यालयलाई केन्द्रित गरी प्र.अ., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कम्प्युटर शिक्षक, वडाध्यक्षसहितलाई डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने योजना रहेको बताए । ‘नगर क्षेत्रको एक÷एक वटा आधारभूतदेखि मा.वि.सम्मका विद्यालयलाई नमूना बनाउने गरी काम गर्दैछौं’ उनले भने ‘निजी श्रोतमा चलेका विद्यालयलाई तीनदेखि आठ लाख रुपैयाँसम्म अनुदान दिंदैछौं ।’ जिल्लाका अन्य स्थानीय तहमा पनि सार्वजनिक शिक्षा सुदृढीकरण सम्बन्धी अभियान पुर्याइनु पर्ने औंल्याउँदै उनले बिपन्नलाई लक्षित गरी आवासीय विद्यालय संचालन गरिने, मेयर, उपमेयर र वडाध्यक्षले एक एक वटा विद्यालयको जिम्मेबारी लिइयो भने नमूना बनाउन सकिने बताए ।
पशुपति आदर्श मा.वि.का प्र.अ. डा. महेन्द्रप्रसाद चौधरीले नगरले गर्मीको नाममा विदा दिनुअघि पनि प्र.अ.हरुसँग सल्लाह नगरेको गुनासो गर्दै प्र.अ.हरुको बैठकमा बिहानी शत्रमा कक्षा संचालन गर्ने निर्णय भएको बताए ‘तर एक्कासी कसरी एक हप्ताको विदा दिइयो’ प्र.अ. चौधरीले भने ‘नगरले एकोहोरो पेल्ने ढंगले जाँदैछ, विषयको गाम्भीर्यतालाई लिएको छैन ।’ एनसिइका उमेश कुमार विसुन्केको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा पत्रकार दिनेश्वर प्रसाद गुप्ताले निःशुल्क भनिएको शिक्षामा कुनै बहानामा शुल्क लिइनु बहाना मात्र रहेको बताए । कार्यक्रममा पत्रकार मणिलाल विश्वकर्माले सार्वजनिक शिक्षामा लगानी र स्थानीय सरकारको भूमिका विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।