
सिरहा । सिरहाको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवस्थामा बेवारिसे नवजात शिशु भेटिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार राती करिब साढे १२ बजेतिर अस्पतालको गेटमा फालिएको अवस्थामा करिब १६ दिन जतिकी शिशु फेला परेको हो । अस्पतालका सुरक्षा गार्डले बच्चा रोएको सुनेपछि तत्काल अस्पतालका चिकित्सक, नर्ससहित प्रहरी बोलाएर नवजात शिशुको उद्धार गरी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)ं मा उपचार र हेरचाह गर्नेगरी राखिएको लहान प्रहरीका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
अस्पतालका सुरक्षा गार्डका अनुसार मध्यरातमा केटियम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएका थिए । ‘उपचारका लागि आएका होलान् भनेर त्यति ध्यान दिइँन’ उनले भने ‘पछि बच्चा रोएको सुनेपछि पुगेर हेर्दा मोटरसाइकलमा दुई जना नै गायव थिए, तिनले नै छोडेर गएको हुन सक्छ ।’
प्रहरी निरीक्षक ठाकुरका अनुसार नवजात शिशु अस्पतालमा छोडेर गएका दुई जनाको खोजी भइरहेको र फेला परेपछि मात्र शिशु फालिनुको कारण बताउन सकिने उनले बताए । ‘नवजात बेवारिसे छोडेर गएका महिला पुरुषको खोजीका लागि सम्भावित ठाउँका प्रहरी युनिटहरुमा हुलियासहित पत्राचार गरिएको छ’ उनले भने ‘त्यसका साथै प्रहरीको विशो टोली समेत परिचालन गरिएको छ ।’