
सप्तरी । जिल्लाको छुट्टाछुट्टै भएको दुर्घटनामा दुई दिनको अवधिमा नाबालक र महिलासहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका ७ भागवतपुरका करिब ५ वर्षीय सुदिपकुमार सदा र शम्भुनाथ ५ की ४५ वर्षीया अञ्जनादेवी यादव छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार बिहान करिब पौने १२ बजे घर नजिकैको पोखरीमा डुबेर सचिन्द्र सदाका छोरा सुदिपको मृत्यु भएको हो । घरदेखि करिब एक सय मिटर पूर्वतिर स्थानीय बसन्त सरदारले खनाएको सानो पोखरीमा डुबेर अचेत अवस्थामा भेटिएका सदालाई तत्काल उद्धार गरी उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । डिएसपी काफ्लेका अनुसार कानुन बमोजिम लास जाँच मुचुल्का लगायत पोष्टमार्टम गरी शव परिवारजनलाई बुझाएर घट्नाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
श्रीमान घाइते, श्रीमतीको मृत्यु
पूर्व पश्चिम सडक अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ सडक खण्डमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् पश्चिमबाट प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल चढेर पूर्वतर्फ जाने क्रममा एक्कासी अनियन्त्रित मोटरसाइकलबाट श्रीमान श्रीमती लडेका थिए । मोटरसाइकल चलाइरहेका सप्तरीको बोदेबर्साईन नगरापालिका २ का करिब ४८ वर्षीय मोहनकुमार यादव र पछाडि बसेकी श्रीमती करिब ४५ वर्षीया अञ्जनादेवी यादव लडेर घाइते भएपछि तत्काल उपचारका लागि रुपनीस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अस्पताल लगिएपनि चिकित्सकले अञ्जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहीका अनुसार श्रीमानलाई सामान्य चोटपटक मात्र लागेकोले उपचारपछि घर पठाइएको र शवको पोष्टमार्टम गरी थप अनुसन्धान भईरहेको छ ।