उदयपुर । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानी बहाव बढेपछि उदयपुरको पूर्वी भेगमा पर्ने बेलका नगरपालिका ८ लाहुरेखोंचको डुम्रीबोटेको बाँध फुटेर बाढी गाउँ पस्दा सयौं परिवार बिस्थापित भएका छन् ।
बाँध फुटेर बुधबार बिहान कोशीको बाढी बस्तीमा पसेपछि बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नं. वडा बढी प्रभावित बनेको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दा आफ्नो थातथलो छोडेर आवश्यक खाद्यान्न, लत्ताकपडा र वस्तुभाउसहित सुरक्षित स्थानतर्फ लागेका छन् । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरीको सप्तकोशी नगरपालिकाका ६ र ७ तथा कञ्चनरूप नगरपालिकाको १, २, ४, ५, १० वडामा असर गर्ने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ ।
एक हजार पाँच सय परिवारको उद्धार
सप्तकोशीको बाँध फुटेर बाढी गाउँ पसेपछि बिस्थापित एक हजार पाँच सय परिवारको उद्धार गरिएको छ । बेलका नगरपालिकाको ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ नं. वडाका प्रभावितहरुलाई उद्धार गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । तत्कालका लागि बाढी प्रभावित बेलका क्षेत्रबाट दुई हजार घरधुरीलाई सुरक्षित स्थानमा पुर्याउने गरी उद्धार कार्य जारी रहेको प्रजिअ यादवले उल्लेख गरे । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन् । उद्धार गरिएका पीडितलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर, चर्चमा राखिएको छ ।
बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बाढी प्रभावित क्षेत्रबाट करिब एक हजार आठ सय घर परिवारलाई बुधबार साँझसम्म सुरक्षित स्थानमा ल्याउनुपर्ने अवस्था रहेकाले त्यही अनुरुप उद्धार भइरहेको बताए । बेलका नगरपालिका ८ सिसौलीका रामबहादुर मगरले कोशीको बाँध फुटेपछि सिंगो गाउँकै उठिवास भएको गुनासो गर्दै गाउँका बालबालिका, बृद्धबृद्धाहरू अप्ठ्यारोमा परेको बताए । बेलका ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा पुर्याउन बिहीबारसम्म लाग्ने बताए ।
तीन सय हेक्टर जमिन बगरमा परिणत
स्थानीय बासिन्दाका अनुसार पछिल्लो केही वर्षयता सप्तकोशीको बाढीले कटान गर्दा बेलकाको तटीय क्षेत्रमा पर्ने करिब तीन सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । बाढीले तीन–चार वर्षखि बर्सेनि खेतीयोग्य जमिन कटान भइरहेको जानकारी दिंदै अहिलेको बाढीले करिब दुई सय हेक्टर जमिन बगरमा परिणत भएको स्थानीय भरत घिमिरेले बताए । ‘दुःख गरेर बनाएको खेतीयोग्य जग्गा बाढीले बगर बनाएपछि सयौं घरपरिवार बिस्थापित हुने अवस्थामा छन्’ घिमिरेले भने ।
उदयपुरलाई केन्द्रबिन्दु बनाएर २०४५ साल भदौमा गएको भूकम्पका कारण उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोशी नदीले धार परिवर्तन गरेर सुनसरीतर्फ धेरै ढल्केको स्थानीय बताउँछन् । अहिले सुनसरीबाट उदयपुरतर्फ कटान गर्दै पुरानै धारमा कोशी बग्न थालेपछि उदयपुरमा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । बेलका नगरपालिका प्रमुख अशोक कार्कीले भने ‘सुनसरीबाट बग्ने सप्तकोशी उदयपुरतिर फर्किंदा सप्तरी जिल्लासम्म क्षति पुर्याउनुका साथै सयौं बिघा खेतीयोग्य जमिन बगर बन्ने जोखिम बढेको छ ।’
सजग रहन सप्तरी प्रशासनको आग्रह
उदयपुरको बेलका नगरपालिका ८ डुम्रिबोटेमा पानीको बहाव बढेसँगै बाँध कटान गरी कोशीको बाढी सिसौली बस्तीमा पसेपछि सप्तरीको सप्तकोशी नगरपालिका ६, ७ को बुचही, चौरीया र बनगमा गाउँमा बाढी पस्ने जोखिम रहेकाले सजग रहन सप्तरी प्रशासनले आग्रह गरेको छ ।
सप्तकोशी नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरुमा इलाका प्रहरी कार्यालय कंचनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फतेपुर, रामपुर मल्हनियाबाट प्रहरी टोली परिचालन गरी स्थानीय बासिन्दालाई सजग सचेत रहन जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।