कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा भुक्तानी गरेको स्थानीयको आरोप

सिरहा । सिराहाको नरहा गाउँपालिका ३ खोरिया गाउँमा गाउँपालिकाले संचालन गरेको खानेपानी बोरिङ् जडान कार्य सम्पन्न नहुँदै मिलोमतोमा कुल बजेटको करिब दुई तिहाई रकम भुक्तानी गरेको पाइएको छ ।
खानेपानीका लागि बोरिङ् जडान कार्य सम्पन्न नहुँदै जनप्रतिधि र कर्मचारीको मिलेमतोमा ३५ लाख रुपैयाँमध्ये २५ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको हो । गाउँपालिकाले वडा नं. ३ मा संचालन गरेको खानेपानी बोरिङ् जडान अन्तर्गत १९ वटा बोरिङ् गरी विद्युतीय मोटर समेत जडान गरिनु पर्ने भएपनि छ वटामा मोटर नै नहाली रकम भुक्तानी दिइएको स्थानीयको आरोप छ ।
वडाध्यक्षले बनाए भाईलाई अध्यक्ष
स्थानीय विकास निर्माण सम्बन्धी काम गर्दा जनप्रतिनिधिका नातेदार, बहालवाला सरकारी कर्मचारी, फौजदारी अभियोग लागेका व्यक्ति उपभोक्ता समितिमा रहन नपाउने व्यवस्था छ तर वर्तमान वडाध्यक्ष मो. रुस्तम अन्सारीले आफ्नै भाई मो. जाविर अन्सारीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको गाउँलेहरु बताउँछन् । ‘आफ्नै भाईलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको भएपनि काम भने सबै वडाध्यक्ष अन्सारी आफैंले गरे’ नाम उल्लेख नगर्ने शर्तमा एक गाउँलेले बताए ।
गाउँलेका अनुसार वडाध्यक्षले स्थानीय माग र आवश्यकताको आधारमा बोरिङ् गाड्नु पर्ने भएपनि नजिकका आफन्तको आँगन र खेतबारीमा बोरिङ् जडान गरेका छन् । जडान गरिएका सबैमा विद्युतीय मोटर जडान गरेर उपभोक्तालाई हस्तान्तरण नगरी काम नसकिंदै दुई तिहाई रकम भुक्तानी दिइनु मिलेमतो नै रहेको गाउँलेहरुको भनाई छ । बोरिङ् गरिएका मध्ये छ वटामा मोटर जडान गर्न बाँकी नै रहेको वडाध्यक्ष अन्सारी स्वयम्ले स्वीकार गरेका छन् ।
‘म आफैंले गराएकाले राम्रो काम भएको छ’ उनले भने ‘बजारमा पानी तान्ने विद्युतीय मोटर नभेटिएकाले जडान गर्न सकिएको छैन ।’ मोटर पाए लगत्तै जडान गरी बाँकी रहेको छ वटा बोरिङ् पनि संचालन गरिने उनले बताए । उपभोक्ता समितिका अध्यक्ष बनेका वडाध्यक्ष अन्सारीका भाई भने सम्पर्कमै आउन चाहेनन् । समितिका अध्यक्ष बनाइएका वडाध्यक्षका भाईले रकम हात पारिसकेकाले बाँकी काम नगरेको स्थानीय गाउँलेको गुनासो छ ।
दोहोर्याएर बोरिङ् तर आउँदैन पानी
स्थानीय नथुनी अन्सारी आफ्नो घर अगाडि गाडिएको बोरिङ्मा पानी नआएपछि अर्को गाडेको भएपनि संचालनमा नरहेको बताउँछन् । ‘त्यसमा पनि मोटर हालिएको छैन’ उनले भने । अर्का स्थानीय मो. कलामुद्दिनको घर अगाडि दुईवटा बोरिङ् गरिएको भएपनि एउटा नचल्ने र अर्कोमा धमिलो पानी आउने बताए । ‘बोरिङ् गरेको तीन महिनाभन्दा बढी भएपनि सफा पानी आएको छैन’ कलामुद्दिनकी श्रीमती नुरजहाँ खातुनले भनिन् ‘पानी सफा नभएकाले गाई बस्तुलाई खुवाउन र लत्ताकपडा धुन, भाँडावर्तन सफा गर्न मात्र प्रयोग गरिरहेका छौं ।’ एक सय फिटसम्म बोरिङ् गरेपछि मात्र पिउनयोग्य पानी आउने तर गाउँमा गाडिएको बोरिङ् ७५ देखि ९० फिटसम्म मात्र रहेकाले प्रायः पानी नआउने र आएपनि धमिलो पानी आउने गरेको स्थानीय तस्लिफ मियाँले बताए ।
इञ्जिनियरको सिफारिशमा भुक्तानी : अधिकृत
नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले स्थानीय तहको निर्वाचन अघि स्वयम्ले अनुगमन गर्दा आठ वडा बोरिङ् जडान भएपनि त्यतिबेला संचालनमा नआएको स्वीकारे । ‘म आफैंले पनि एक पटक अनुगमन गरेको थिएँ’ प्रशासकीय अधिकृत यादवले भने ‘त्यसपछि इञ्जिनियरले गरेको लागत स्टिमेट मूल्याङकन अनुसार ३५ लाख मध्ये २५ लाख रकम मात्र भुक्तानी गरिएको हो, बाँकी रकम काम सम्पन्न भएपछि भुक्तानी दिनेछौं ।’
उपझोक्तामार्फत् गरिने विकास निर्माण सम्बन्धी काम सम्पन्न भई मूल्यांकनपछि मात्र भुक्तानी दिइनु पर्ने भएपनि समितिका पदाधिकारीलाई रनिङ् बिलको आधारमा भुक्तानी दिइनु जनप्रतिनिधि, कर्मचारी र समितिको मिलेमतो रहेको स्थानीय बताउँछन् । गाउँपालिकाका इञ्जिनियर शैलेन्द्र यादवले आफूले कामको आधारमा मूल्यांकन गरेर रकम भुक्तानीका लागि सिफारिश गरेको बताउँदै भने ‘काम करिब करिब सम्पन्न भईसकेको छ, बाँकीको मूल्यांकन गरेर भुक्तानीका लागि सिफारिश गर्नुपर्ने छ ।’