सिरहाका दुई स्थानीय तहमा मुसहर समुदायका उपमेयर उम्मेदवार

सिरहा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार भएको मनोनयन पत्र दर्ताको क्रममा सिरहाको सिरहा र गोलबजार नगरपालिकामा गरी मुसहर समुदायका दुई जना महिलाको उपमेयर पदमा उम्मेदवारी परेको छ ।
सिरहा नगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टी नेपालबाट शशिमित्रा माझी मुसहर र गोलबजार नगरमा नेपाली कांग्रेसबाट उपमेयरमा शान्ति सदाको उम्मेदवारी परेको हो । प्रायः सबै निर्वाचनमा वडा सदस्यसम्म उम्मेदवार बनाइने मुसहर समुदायका दुई जना महिलाले उपमेयरको पदमा उम्मेदवारी दिनु पनि मुहसर समुदायमा राजनीतिक जागरण बढ्दै गएको संकेत रहेको राजनीतिकर्मीहरु बताउँछन् ।
सर्लाहीको चन्द्रनगर माइती भई सिरहाको मखनाहा विवाह भएकी मुसहर स्टाफ नर्स हुन् । चिकित्सक श्रीमान डा. दिलिप सदालाई सघाउँदै जनता समाजवादी पार्टीको राजनीतिक सकृय रहेकी उनी पार्टीको सिरहा नगर समिति र महिलाको प्रदेश समितिको जिम्मेबारीमा समेत रहेकी छन् । कांग्रेसबाट गोलबजारमा उपमेयर उम्मेदवार बनेकी शान्ति राजनीतिमा नयाँ अनुहार भएपनि गीत संगीतमा रुचि राख्नेहरुका लागि नयाँ भने होइनन् ।
जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिकामा नेकपा (एमाले) ले दलित महिला संघकी पूर्व अध्यक्ष तथा दलित महिला अधिकारकर्मी निर्मला पासवानलाई उपमेयर उम्मेदवार बनाएको छ । पासवानसँगै सिरहामा तीन स्थानीय तहमा दुई मुसहरसहित दलित समुदायका तीन जना उम्मेदवार बनेका छन् ।