एसइइ आयो, शिक्षक र पाठ्यपुस्तक नहुँदा मर्कामा दृष्टिविहीन विद्यार्थी

राजकुमार राउत
सिरहा । आगामी वैसाखको दोस्रो हप्तादेखि हुने एसइइ परीक्षा नजिकिंदै गरेको भएपनि ब्रेललिपी पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा आफूहरु समस्यामा परेको दृष्टिविहीन विद्यार्थीहरुले गुनासो गरेका छन् ।
सिराहाको लहानस्थित पशुपति आदर्श मा.वि.मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु पाठ्यक्रम अनुसार ब्रेललिपीका पाठ्यपुस्तकका सबै भाग नआउँदा एसइइ परीक्षाको तयारी गर्न गाह्रो परिरहेको बताउँछन् । अनिवार्य विषयको रुपमा पढाई हुने नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक अध्ययन, गणितको ब्रेललिपीको पहिलो भाग आएपनि दोस्रो तथा तेस्रो भागका सबै पुस्तक नआउँदा समस्या भइरहेको विद्यार्थी अजित रजकले गुनासो गरे । ‘विद्यालयमा ब्रेललिपीका शिक्षक हुनु हुन्न, त्यसमा पनि ब्रेललिपी पुस्तकका सबै भाग नहुँदा समस्यामा छौं’ रजकले भने । ब्रेललिपी पढाउने शिक्षक नहुँदा सामान्य विद्यार्थीले झैं सुनेकै भरमा पढ्न बाध्य रहेको उनले बताए ।
दृष्टिविहीन विद्यार्थीका फोकल शिक्षक शोभितलाल चौधरीले दृष्टिविहीन विद्यार्थीका लागि छुटेका ब्रेललिपीका पुस्तक धरान र काठमाडौंमा मात्र पाइने हुँदा मगाएको भएपनि नआएको बताए । ‘कोभिड– १९ को महामारीले पनि विद्यालय प्रशासनले दृष्टिविहीन विद्यार्थीको माग अनुसारको सामान उपलब्ध गराउन सकेन’ उनले भने ‘पछिल्लो पल्ट काठमाडौंबाट मगाएका छौं, त्यो पनि आइसकेको छैन ।’
स्लेट र स्टाइलर्सको पनि अभाव
एसइइ परीक्षा नजिकंदै गरेको भएपनि भएका ब्रेललिपीका आधारित पुस्तकहरु जसोतसो पढ्न सकिने तर लेख्नका लागि स्लेट र स्टाइलर्स नहुँदा थप समस्या भइरहेको कक्षा १० का अर्का विद्यार्थी रामइश्वरकुमार महतोले बताए । ‘ब्रेललिपीको पुस्तक पढेपछि नोट तयारीका लागि लेख्न स्लेट र स्टाइलर्स चाहिन्छ’ महतोले भने ‘तर शैक्षिक सत्र शुरु भएको १२ औं महिनासम्म पनि स्लेट र स्टाइलर्स पाएका छैनौं ।’
महतोले जस्तै आउँदो एसइइ परीक्षाको तयारीका लागि समस्या भइरहेको गुनासो गर्छन्, कक्षा १० का अर्का विद्यार्थी रामकुमार पासवान । ‘विद्यालय र फोकल शिक्षकलाई धेरै पल्ट भन्दा पनि पाएनौं’ महतोले भने ‘त्यसबाहेक दृष्टिविहीन विद्यार्थीका लागि गणितका सामग्रीहरु नहुँदा परीक्षाको तयारी गर्न समस्या थपिएको छ ।’ पशुपति आदर्श मा.वि.बाट यो पल्ट रजक, महतोे, पासवान, श्याम ठाकुर र तेजनारायण महतो र श्याम ठाकुरले एसइइ परीक्षा दिन फर्म भरेको विद्यालय प्रशासनले जनाएको छ ।
नगरपालिकाको असहयोग
उक्त विद्यालयमा कक्षा चारदेखि ११ सम्म एक छात्रासहित आठ जना विद्यार्थी पढिरहेको प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले बताए । दृष्टिविहीन विद्यार्थीलाई पढाउँदै आएका शिक्षक सुरेन्द्र पराजुली गत साउनमा सेवा निवृत्त भएपछि अर्का दृष्टिविहीन शिक्षकलाई ल्याउने प्रयास गरिएको भएपनि नगरपालिकाले सहमति नदिंदा अप्ठ्यारो परेको उनको भनाई छ ।
‘यो विद्यालयबाट एइइ उत्तिर्ण गरेका दृष्टिविहीन विद्यार्थी निलकण्ठ वाग्ले अहिले धादिङ्मा शिक्षक छन्’ उनले भने ‘उनलाई सरुवा गराएर ल्याउने प्रयास गरिएको भएपनि नगरपालिकाले सहमति नदिएको बरु दरबन्दी नै काट्ने प्रयास गरेपछि त्यतिकै बस्न बाध्य भयौं ।’ मधेस प्रदेशमै लहानमा मात्र रहेको दृष्टिविहीन विद्यार्थीको पठनपाठन व्यस्थित गर्न नगरपालिकाले आवश्यकता अनुसार सहयोग नगर्दा दृष्टिविहीन विद्यार्थीसँगै विद्यालय प्रशसनलाई पनि समस्या भएको उनको भनाइ छ ।