मनमोहन प्राविधिक विश्वविद्यालय : आरक्षित कोटा बढाउनु पर्ने माग

सिरहा । प्राविधिक शिक्षामा पनि महिला विद्यार्थीको आकर्षण बढिरहेको सन्दर्भमा विश्वविद्यालयले महिलाका लागि भर्नाको आरक्षित कोटा बढाउनु पर्ने सहभागीहरुले माग गरेका छन् ।
मोरङ्को बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ्ले शुक्रबार सिराहाको लहानमा आयोजना स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८÷०७९ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले प्राविधिक शिक्षा पढ्ने महिला विद्यार्थीको संख्या बढिरहेको भएपनि भर्नाको आरक्षित कोटा न्यून भएकाले बढाउनु पर्ने माग गरेका हुन् । अन्तक्र्रियामा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका केन्द्रीय उपाध्यक्ष धरणीधर अधिकारीले शिक्षा, स्वास्थ्य, गरिबीको पुछारमा रहेको मधेसमा दलित, महिलालाई शैक्षिक रुपले माथि उठाउन आरक्षित कोटा बढाउनुको साथै विशेष सहुलियतको माग गरे ।
‘विशेषगरी प्राविधिक शिक्षामा मधेस प्रदेशमा आकर्षण बढ्दो छ तर सरकारी प्राविधिक शैक्षिक संस्थाले धान्न नसकिरहेको भएपनि निजी क्षेत्रले प्राविधिक शैक्षिक संस्था खोल्न विभिन्न अवरोधहरु खडा गरिएको छ’ केन्द्रीय उपाध्यक्ष अधिकारीले भने ‘सरकारी संस्थाले पनि कोटा सीमित गरेपछि महिला, दलित, पछाडि पारिएको समुदायले कसरी प्राविधिक शिक्षा पढ्न सक्छन् ?’
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल सिराहाका अध्यक्ष प्रदिप तिवारीले विश्वविद्यालयले तोकेको शिक्षण शुल्क निम्न मध्यम वर्गीय परिवारका विद्यार्थीहरुका लागि पनि उपयुक्त भएको तर गुणस्तरीय शिक्षाको ग्यारेण्टी गरिनु पर्नेमा जोड दिए ।
उत्कृष्ट प्रयोगशाला, गुणस्तरीय पढाई
अन्तक्र्रियामा विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ्का डिन डा. प्रचण्डमान प्रधानले विश्वविद्यालयको भौतिक पूर्वाधार, प्रयोगशाला नेपालकै प्राविधिक विषय पढाउने शैक्षिक संस्थाहरुको तुलनामा उत्कृष्ट रहेको र पढाई पनि गुणस्तरीय हुने बताए ।
‘प्रदेश सरकारको मातहत संचालन भइरहेको विश्वविद्यालय विधिवत् स्थापना भएको दुई वर्ष नाघेपनि बजरमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम निर्धारण, प्रयोगशाला स्थापना लगायतका कामहरु गर्दा केही ढिलो भयो’ डिन डा. प्रधानले भने ‘नेपाल इञ्जिनियरिङ् काउन्सिलको स्वीकृतिसहित चार वर्षे सिभिल इञ्जिनियरिङ् तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इञ्जिनियरिङ्को पढाई शुरु गर्दैछौं ।’
कार्यक्रममा विश्वविद्यालयका प्रशासक तथा सूचना प्रविधि विज्ञ युवराज चौधरीले स्कुल अफ इञ्जिनियरिङ्, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज संचालन हुने बताए । चौधरीका अनुसार आगामी १० वर्षभित्र विश्वविद्यालयले तीन संकायमा स्नातकसहित स्नातकोत्तर र विद्यावारिधी (पिएचडी) गरी विभिन्न २८ विषयहरु संचालन गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रममा स्कुल अफ इञ्जिनियरिङ््का कार्यक्रम संयोजक डा. दिपराज डंगोल, सहप्राध्यापक नरेन्द्रकुमार डाँगी लगायतले दक्षिण एशियाका प्राविधिक विश्वविद्यालयहरुको तुलनामा आफूहरुले न्यूनतम् शुल्कमा दक्ष जनशक्ति उत्पादन गरी विकासशील मुलुक नेपाललाई आवश्यक पर्ने प्राविधिक जनशक्ति तयार गर्ने उल्लेख गरे ।