‘मानिसलाई यथास्थितिबाट रूपान्तरण हुनको लागि एउटा अदम्य साहसको जरुरत पर्छ । त्यो शक्ति एक अन्तरिक्ष यानलाई पृथ्वीको गुरुत्वाकर्षण क्षेत्र पार गर्न लाग्ने शक्ति जत्तिकै वा त्यो भन्दा पनि कैयौं गुणा बढी साहसको आवश्यकता पर्दछ’– विद्वान स्टिफन कोभे ले । समाजमा रहेका सामाजिक मूल्य, मान्यता, रीतिरिवाज, धारणा, क्रियाकलाप, परिवेश, लवाईखुवाई, व्यवहार, आचरण, संरचना, सरोकार एवम् सम्बन्धहरूमा सकारात्मक परिवर्तन भई एउटा अवस्थाबाट (यथास्थितिबाट) अर्को अवस्थामा (अग्रगामी स्थितिमा) पुग्ने प्रकृया सामाजिक रूपान्तरणका रूपमा लिन सकिन्छ ।
के हो रुपान्तरण ?
रूपान्तरणको अर्थ हो– सामाजिक कुरीति, कुसंस्कार, विकृति, विसङ्गति, विभेद, असमानता, शोषण र नकारात्मक सम्बन्धलाई अन्त्य गरी उन्नत, वैज्ञानिक, सुसंस्कृत, सत्य र न्यायपूर्ण सम्बन्धको विकास, परिमार्जन वा परिष्कृत पार्नु । अर्को शब्दमा भन्ने हो भने सामाजिक रूपान्तरणले वर्तमान समाजमा हुने तत्कालको परिवर्तनलाई बुझिन्छ । ज्ञान आर्जन गर्नु सूचना संकलन गर्नु हो भने आर्जित ज्ञानको आधारमा आफूलाई परिवर्तन गर्नु रूपान्तरण हो । रूपान्तरण एक लामो प्रकृया हो ।
नेपालका पुराना शासकहरु आफू र शासकीय स्वरुपमा समय अनुरुप रुपान्तरण नहुँदा जहाँनिया व्यवस्था मात्र ढलेन, ३० वर्षे पंचायती व्यवस्था, कुशासन, भ्रष्टाचार मौलाएपछि २०४६ सालमा पुनःस्थापन भएको बहुदलीय व्यवस्था पनि दुई दशक नपुग्दै २०६३ मै अर्को व्यवस्थामा रुपान्तरित भयो । राणाकालदेखि नेपालको अन्तरिम संविधान २०६३ सम्म आई पुग्नु अगाडि एकल जातीय भाषा, धर्म, भेष र एकल नश्लीय तथा वंशीय शासन व्यवस्थाको अन्त्य गर्न २००७ सालदेखि संगठित रुपमा सशस्त्र जनक्रान्ति, जनआन्दोलन र जनयुद्ध क्रममा हजारौं नेपालीहरुले ज्यानको आहुति दिए ।
सामाजिक, राजनीतिक, आर्थिक लगायत सबै क्षेत्रको क्रान्तिकारी रुपान्तरणका लािग भएका आन्दोलनहरुमा अंगभंग, देश निकाला, बिस्थापित र फाँसीको सजायसम्म सहजै स्वीकार गरे, वीर सपुतहरुले । एकल राज्य शासन व्यवस्थाले आम नेपाली जनताको परिवर्तनको चाहना कहिल्यै पूरा नहुने, नेपाली जनताले थिचोमिचो, शोषण दमन, विभेद र उत्पीडनको पीडाहरु सहेर बाँच्नु पर्ने बाध्यता थियो ।
माथि उल्लेखित सबैखाले असमानता, अन्याय, अत्याचार, उत्पीडन, विभेदको अन्त्य गरी राजनीतिक पार्टीहरुको सहमतिमा २०७२ असोज २ गते नेपालको पहिलो संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानमार्फत् मुख्यतया सामाजिक रुपान्तरणको व्यवस्था गरेको छ ।
कसरी रुपान्तरण ?
यो संविधान दलित, महिला, जनजाति, मधेसीको नाममा शदियौंदेखि विभेद र उत्पीडनमा पारिएका वर्गको लागि विशेष व्यवस्थाहरु गर्यो । नेपालको वर्तमान संविधानमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिकता व्यवस्था गरिएको छ ।
राज्यका अंगहरुमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता प्रदान गरिएको भएपनि राजनैतिक पार्टीहरु संविधानमा भएको व्यवस्था बमोजिमको कार्यान्वयनको प्रक्रियामा कहीं न कहीं चुकेका छन् । फलस्वरुप आम जनताले आशा गरे जसरी रुपान्तरण हुन सकेको छैन । न्याय र नैतिकतामा आधारित समाज निर्माणलाई मूर्तता प्रदान गरेमा मात्रै व्यवहारिक रुपमा सामाजिक रुपान्तरणको अनुभूति गराउन सकिन्छ । सामाजिक रुपान्तरणका शब्दहरु संविधान र कानुनका किताबमा मात्र होइन, आम मानिसको मन र मस्तिष्कमा निःश्रृत हुनु पर्दछ ।
राजनीतिक व्यवस्था फेरियो, शासन व्यवस्थाका पात्रहरु प्नि फेरिए तर सामाजिक व्यवस्था फेरिएन । राज्यको केन्द्रीय तहमा राजनीतिक र गाउँ तहमा सामाजिक सामन्ती चरित्र उस्तै छ । तीन तहको निर्वाचनपछि आम जनताले जुन रुपमा आशा र भरोसा गरेका थिए, त्यो अपेक्षा अनुसार काम भएका छैनन् । अब त गाउँमै सिंहदरवार आयो, गाउँ बन्छ, बेरोजगारले रोजगार पाउँछन्, गरिबहरुले भोकै बस्नु पर्दैन, आर्थिक समृद्धि हुन्छ, हिंसामा कोही पर्दैनन् भन्ने जनताको अपेक्षालाई तीन तहकै सरकारले उचित ढंगले सम्बोधन गर्न सकेनन् ।
दुर्भाग्य ! पहिले नेताकै रुपान्तरण
सामाजिक रुपान्तरणका लागि मन छुने भाषण गर्ने आफ्नै गाउँठाउँका नेता स्थानीय सरकारमा चुनिएपछि जनताले आफूहरुको जीवन फेरिने अपेक्षा गरेका थिए तर केही अपवादबाहेक पहिले चुनिनेहरुकै रुपान्तरण भयो र हुँदैछ । नेताहरु जुन दिनदेखि निर्वाचित भए, पहिले त तिनकै रुपान्तरण भएको जनताले देखिरहेका छन् । माटोको घर भएका नेताहरुको पक्की घर बने । पक्की घर भएकाहरुको तला थपिए, छोराछोरी सरकारी विद्यालयबाट महँगा निजी विद्यालयमा पढ्न थाले । चार चक्के गाडीमा सरर हुइकिंदै महँगा होटलमा ‘ज्युनार’ गर्ने भए ।
आफ्ना आसेपासे वा हुनमान र ठेकेदारहरुलाई मात्र समय दिने, उनीहरुकै सर सल्लाह मात्र सुने, जनप्रतिनिधिहरुले । जनताले भन्न थालिसके– जुनै जोगी आएपनि कानै चिरेको । जनता किन यतिबिध्न निराश छन् ? सामाजिक रुपान्तरणको व्याख्या केवल भाषणका लागि मात्र होइन, यो त आम जनताको समुन्नत र समृद्धिका लागि पहिलो खुड्किलो ‘म’ बाट– तिनै तहका सरकार संचालक पार्टी प्रतिनिधिहरु (संघ, प्रदेश, स्थानीय सरकार) ले जबसम्म ‘हामी शासक होइन, सेवक हौं’ भन्ने कुरा अन्तरात्माले स्वीकार्दैन वा रुपान्तरण हुँदैन, आम जनता ठगिइरहन्छन् ।
रुपान्तरण सबभन्दा पहिले आफूबाट शुरु गरौं । त्यसमा अवश्य नै अप्ठ्यारो होलान्, चुनौतीहरु आउलान्, लज्जाबोधको आभास होला तर सकारात्मक सोंच बनाऔं, एउटा संकल्प गरौं, रुपान्तरणको पाईला आजदेखि नै चालौं । किनकी तंपाइँ ‘जनताको नायक’ हो । हरेक जनता आफ्नो असल नायकको नक्कल गर्न रुचाउँछन । तंपाइँको सकारात्मक रुपान्तरणले हजारौं लाखौं जनता अवश्य रुपान्तरण हुनेछन् जुन आजको मांग पनि हो ।