सिरहा । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सिरहा जिल्ला कार्यसमितिको सोमबार भएको निर्वाचनबाट निवर्तमान सभापति पुनः पाँच वर्षे दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
यादव एक हजार चार सय २६ मतसहित सभापति पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार जिल्लाको १७ स्थानीय तहका दुई हजार छ सय ७० मतदातामध्ये दुई हजार चार सय ७३ जनाले मतदान गरेकामध्ये एक सय ६० मत बदर भएको थियो । मतदानकै दिनदेखि धाँधली भएको भन्दै मतदान र मतगणना बहिष्कार गरेको जिल्ला सभापति पदका अर्का प्रत्यासी रामसुन्दर चौधरीले आठ सय ८७ मत पाएको निर्वाचन समितिका अधिकृत संजीव लमाले बताए ।
चौधरी प्यानलले बहिष्कार गरेको भएपनि मंगलबार मध्यान्हदेखि थालिएको मतगणना अनुसार जिल्ला सभापतिसहित पदाधिकारीहरुमा पनि निवर्तमान सभापति प्यानलका उम्मेदवाहरु निर्वाचित भएको घोषणा गरिएको छ । कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमितिको कुल ७९ पदका लागि निवर्तमान सभापति रामचन्द्र यादव र सभापति पदका अर्का प्रत्यासी रामसुन्दर चौधरी प्यानलका गरी एक सय ५८ जनाको उम्मेदवार थिए । उम्मेदवार दिएकामध्ये अल्पसंख्यक/ अपांगमा चौधरी प्यानलका दुई जना र भूगोलबाट यादव प्यानलका दुई जना गरी चार जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पुनः मतदान गराउन माग, नभए समानान्तर समिति
जिल्ला कार्यसमितिका लागि भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सभापति पदका प्रत्यासी चौधरी प्यानलले मतदान बदर गरी पुनः अर्को निर्वाचन गराउन माग गरेको छ । चौधरी प्यानलले मंगलबार साँझ लहानमा पत्रकार सम्मेलनमार्फत् आफूहरुले मतदानमा धाँधली भएको विषयमा सोमबार साँझ नै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी पठाएको जनाएको छ । सभापति पदका प्रत्यासी रामसुन्दर चौधरीसहित उनको प्यानलका सबै उम्मेदवारहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वले बेवास्ता गरे समानान्तर जिल्ला समिति चलाउने चेतवानी समेत दिएको छ ।
जिल्ला कार्य समितिका सभापति पदका प्रत्यासी चौधरीले मतपत्रको अर्धकट्टी, नम्बरिङ् समेत नराखी निर्वाचन अधिकृतको छाप बनाएर मतपत्र दिइएकाले सेटिङ्मा धाँधली गरिएको आरोप लगाए । ‘निर्वाचन अधिकृत संजीव लामाले निवर्तमान सभापतिसहित सिंगो प्यानललाई प्रमाण पत्र दिनेगरी धाँधलीपूर्ण निर्वाचन गराए’ चौधरीले भने ‘आफूहरुले पटक पटक प्रतिवाद गर्दा पनि प्रहरी प्रशासनको आडमा निवर्तमान सभापतिको प्यानललाई जिताउन फर्जी व्यक्तिलाई समेत मत खसाल्न दिइयो ।’
निर्वाचन अधिकृत लामाले धाँधलीको सबै योजना बनाएर बिहान ८ बजेदेखि शुरु हुनु पर्ने मतदान अढाई घण्टा शुरु गराई चौधरी प्यानलका मतदाताहरुलाई मतदान गर्नबाट समेत बन्देज गराएको उपसभापति पदका प्रत्यासी गंगाराम यादवले बताए । ‘जुनसुकै खालको निर्वाचन भएपनि सामान्यता प्रत्यासीका प्रतिनिधिहरुको रोहवरमा मतपत्र रुजुर गरी दुवै पक्षको उपस्थितिमा गणना गरिन्छ’ उनले भने ‘तर सिरहा कांग्रेसको मतगणनामा प्रतिस्पर्धी प्यानलका कसैको उपस्थिति बिना मतगणना गरेर एक पक्षीय रुपमा विजेता घोषणा गरिएको छ ।’ मतदान चलिरहेका बेला सोमबार दिनभर गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँड मतदान स्थलमा बसेर आफ्नै निर्देशनमा यादव प्यानललाई निर्वाचित गराउन भूमिका खेलेको चौधरी प्यानलको आरोप छ ।