सिरहा । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल १३ वर्षसम्म पनि निर्माण नभएपछि एक हप्ता भित्र नयाँ पुल निर्माण थालनीको माग गर्दै मधेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
हुलाकी सडक कमला पुल निर्माण संघर्ष समितिले आइतबार मुख्यमन्त्री सतिश कुमार सिंहलाई हुलाकी सडकको कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै एक सूत्रीय ज्ञापन पत्र बुझाएको हो । एक हप्ताभित्र आफूहरुको माग सम्बोधन नगरिए मुख्यमन्त्री कार्यालय अगाडि आगामी ४ भदौदेखि सामूहिक आमरण अनसन गर्ने ज्ञापन पत्रमार्फत् चेतावनी दिइएको छ । ज्ञापन पत्रमा मधेश र मधेशीको केन्द्रसम्म आवाज नपुग्ने भएकाले संघीयता आएको नौ वर्ष बित्दा समेत एउटा पुलका लागि केन्द्र जानु परे प्रदेश रहनुको औचित्य के छ भन्ने प्रश्न उठाइएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू पनि सप्तरीको बासिन्दा भएकाले जनकपुर आवत जावत गर्दा कठिनाइ झेलिरहेको जानकारी दिंदै पुलको निर्माण संघीय सरकार मातहत रहेकाले पटक–पटक ध्यानाकर्षण गराएको बताए । आफूले संघीय सरकारको नेतृत्वलाई भेटेर निर्माणको जिम्मा मधेश सरकारले लिने गरी छलफल गर्ने उनले ।
मधेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र दिन आइतबार बिहान ८ बजे संघर्ष समितिका संयोजक इञ्जिनियर प्रवीण यादवको नेतृत्वमा पूर्व मन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता रामरिझन यादव, प्रदेश सांसद् प्रमोद कुमार यादव, नेता लाल गोइत लगायत सयौंको संख्यामा युवा, सिकान, बुद्धिजीवीहरु कमला पुल अंकित झण्डासहित मोटरसाइकल र्याली गरेर जनकपुर पुगेका थिए ।
निर्माणको अन्तिम काम चलिरहेका बेला १७ असार २०७८ मा आएको बाढीले पुलको सिरहातर्फको दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पाया समेत भासिएपछि पुनःनिर्माणको काम सुस्त हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाया भासिएको करिब डेढ वर्षपछि पछिल्लो माघदेखि पूर्वतर्फ थालिएको पुनःनिर्माणको काम समेत गत १ असारदेखि स्थगित छ ।
पुल निर्माण थालिएको करिब १३ वर्ष बित्दै गर्दा समेत सम्पन्न नभएपछि प्रदेश सरकारको लगानीमा नयाँ पुल निर्माणको माग गरिएको संयोजक यादवले बताए । ‘चौतर्फी दबाब परेपछि भासिएको पुलको पुनःनिर्माण गर्न निर्माण व्यवसायीले सुस्त गतिमा काम गर्दै थिए’ उनले भने ‘पुनःनिर्माणको काम प्राविधिक र आर्थिक रुपले उपयुक्त रहेको निष्कर्षपछि नयाँ पुल निर्माणको माग गरेका हौं ।’ पुलको डिजाइन नै गलत भएकाले पुल निर्माणाधीन अवस्थामा भासिएकाले अब त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरी नयाँ पुल बनाउनुपर्ने आफूहरुको माग रहेको समितिले जनाएको छ ।
हुलाकी सडक अन्तर्गत कमला नदीमा चार सय ६० दशमलव दुई मिटर लामो पुल बनाउन ३१ जेठ २०६८ मा भएको सम्झौता अनुसार ३० मंसिर २०७१ सम्म निर्माण सम्पन्न गर्ने समय सीमा पटक–पटक थप हुँदै अन्तिम पटक भएको सम्झौता अनुसार ३० असार २०८० तोकिएको थियो । कुल २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो ।