युवाहरुका लागि एक्टिभिजम तथा जनवकालत तालिम

सिरहा । दास प्रथाको अवशेषको रुपमा रहेको कृषि बँधुवा मजदुर हरवा चरवाको मुक्ति र पुनस्र्थापनाको संयुक्त आन्दोलनमा युवाहरुको संग्लनता बृद्धि गर्ने उद्देश्यले सिराहाको लहानमा आइतबारदेखि तीन दिने हरवा चरवा युवा एक्टिभिजम तथा जनवकालत तालिम शुरु भएको छ ।
मुलुकको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भ, कृषि बँधुवा मजदुर सम्बन्धी राज्यका नीति तथा कानुनको विषयमा हरवा चरवा यूवाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनारायण पासवानले बताए । अधिकृत पासवानका अनुसार तालिममा हरवा चरवाको वर्तमान समस्या, सवालहरु पहिचान र प्राथमिकीकरण गरी मुक्ति र पुनस्र्थापनाको आन्दोलनमा छ महिने जनवकालत योजना समेत तयार गरिनेछ ।
तालिमपछि अभियान र आन्दोलन गर्न हरवा चरवा युवाहरुको भूमिकाबारे छलफल गरी स्थानीय, प्रदेश र संघीय स्तरमा नीतिगत जनवकालत संचालन गर्न एक्टिभिष्टहरुले खेल्नु पर्ने भूमिकाको बारेमा पनि समान बुझाई कायम हुने जनाइएको छ । तालिममा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा र रौतहटका ३० जना हरवा चरवा युवाहरुको सहभागिता रहेको छ । द फ्रिडम फण्डको सहयोगमा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चसँगको सहकार्य तथा राष्ट्रिय दलित नेटवर्कको आयोजनामा संचालित तालिममा फण्डका बालाराम भट्टराई, जियाम श्रेष्ठ, भूमिविज्ञ जगत देउजा, मानवअधिकारकर्मी राजु पासवान र नेटवर्कका टिमलिडर हुकुम सार्कीले सहजीकरण गरेका छन् ।