सिरहा । आप्रवासी हकहित सञ्जाल सिरहाले जिल्ला प्रशासन कार्यालयमार्फत् शुक्रबार काठमाडौंस्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रा.लि.मा भएको घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कारबाही गरिनु पर्नेसहित पाँच बुँदे ध्यानाकर्षण पत्र पठाएको छ ।
सञ्जालकी जिल्ला अधयक्ष कृष्णमाया कामीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उक्त घटनामा परेका आप्रवासी परिवार तथा पत्रकारहरुलाई तत्काल स्वास्थ्योपचारको व्यवस्थासहित क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने माग गरिएको छ । ध्यानाकर्षण पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको मार्सल टोलीको कार्यलाई संस्थागत गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने, भिजिट भिसामा विभिन्न मुलुकमा अलपत्र परेका तथा फसेका कामदारहरुलाई तत्काल उद्धार गरिनु पर्ने माग गरिएको छ ।
त्यस्तै, भिजिट भिसामा नोपली कामदारहरु ठगी गर्ने दलालहरु गाउँदेखि केन्द्रसम्म सकृय रहेको देखिएकाले त्यस्ता मानव बेचविखन तथा गैरकानुनी कार्य गर्ने गराउनेलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गरिनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । सञ्जालले स्थानीय प्रशासनमार्फत् प्रधानमन्त्री, गृहमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।