ढुंगा लागेर घाइते महिलाको सेनाद्वारा उद्धार

मुगु । जंगलमा बाख्रा चराउन गएका बेला ढुंगा लागेर घाइते भएकी महिलाको नेपाली सेनाले उद्धार गरी उपचारका लागि पठाएको छ ।
बाख्रा चराइरहेका बेला अकस्मात् ढुङ्गा खसेर टाउको तथा आँखामा चोट लागेर गम्भिर घाईते भएकी मुगुको सोरु गाउँपालिका ५ की महिलाको उद्धार गरी नेपाली सेनाले उपचारका लागि पठाएको हो । घाइते महिलालाई सुर्खेतको बीरेन्द्रनगरस्थित सेनाको पश्चिम एयर वेसको हेलिकप्टरमार्फत् सैनिक अस्पताल, नेपालगञ्ज पठाइएको सेनाले जनाएको छ ।
कर्णाली, सुदूर पश्चिम तथा लुम्बिनी प्रदेशका दुई जिल्लाका सुत्केरी तथा प्राकृतिक प्रकोप र विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमाण्ड अन्तर्गत एयर बेसको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा पुर्याएर सेनाले उपचारमा सहयोग गर्दै आएको छ । १७ भदौ २०७६ मा पश्चिम कमाण्ड अन्तर्गत सेनाले बीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई निरन्तरता दिंदै आएको छ ।