स्रोत नखुलेको करिब १० लाख रुपैयाँ बरामद

सप्तरी । प्रहरीले विशेष सूचनाको आधारमा भारतबाट स्रोत नखुलेको करिब १० लाख रुपैयाँ ल्याउँदै गरेको अवस्थामा रकमसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीथित राजश्व अनुसन्धान कार्यालय बुझाएको छ ।
मोटरसाइकल चढेका दुई जना व्यक्ति हुण्डी कारोबारका लागि स्रोत नखुलेको रकमसहित भारतबाट नेपाल आउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँचको क्रममा दुई जनालाई नौ लाख ९० हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ घर भएका २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
४ माघको अपरान्ह ४ बजेतिर राजबिराज नगरपालिका ५ छिन्नमस्ता अस्पताल नजिकबाट प्रदेश नं. २–०१–००३ प ३४७८ नम्बरको नम्बरको मोटरसाईकल चढेका दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । उनका अनुसार मोटरसाईकलको पछाडि बसेका मण्डलले बोकेको कालो रङको झोलामा एक हजार रुपैयाँ दरको सात थान र पाँच सय रुपैयाँ दरको एक हजार नौ सय ६६ गरी जम्मा नौ लाख ९० हजार रुपैयाँ बरामद भएको हो ।