सिरहा । मलखाद, बीउविजन, सिंचाईका लागि सकस झेल्दै आएका किसानलाई राहत दिन गोलबजार नगरपालिकाले किसानले खेतीपातीका लागि प्रयोग गरेको कृषि मिटरको महसूल रकम तिरिदिने भएको छ ।
गोलबजार नगर कार्यपालिकाको २९ पुसमा भएको बैठकको निर्णय अनुसार १ माघदेखि नगर क्षेत्रभित्रका किसानले खेतीपाती गर्न आफ्नो खेतबारीमा जडान गरेको कृषि विद्युत मिटरको महसूल तिरिदिने नगर प्रमुख देवनाथ साहले जानकारी दिए । कृषि मिटर प्रयोग गरेका किसानले खपत गरेको विद्युतको महसुल रकम नगरको कृषि शाखामार्फत् सम्बन्धित किसानका नाममा विद्युत प्राधिकरणलाई भुक्तानी गरिने र त्यसका लागि प्राधिकरणसँग सम्झौता गर्ने सहमति भइसकेको नगर प्रमुख साहले बताए । किसानले चलाउँदै आएको कृषि मिटरको पुस मसान्तसम्मको बक्यौता महसूल सम्बन्धित किसानबाट प्राधिकरणले नै असुल गर्ने र त्यसयताको महसूल नगरले भुक्तानी दिने नगर प्रमुख साहले उल्लेख गरे ।
ग्राहक नम्बर, रसिदसहित दर्ता
गोलबजार नगरपालिका कृषि शाखा प्रमुख रामनारायण महतोका अनुसार कृषि मिटर प्रयोग गरिरहेका किसानले मिटर खरिद गर्दा प्राधिकरणले दिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता आवेदन दिएसँगै दर्ता गरिएपछि त्यसको आधारमा चालु आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्मको महसूल रकम नगरले प्राधिकरणलाई भुक्तानी दिनेछ ।
‘नयाँ अभ्यास भएकाले कति बजेट लाग्छ भन्ने यकिन नभएपनि आगामी फागुन महिनादेखि किसानले प्रयोग गर्दै आएको कृषि मिटरको खपत औसत विद्युत यकिन हुने र चालु आ.व.को असारसम्म किसानलाई कृृषि मिटरवापत् दिइने रकम निकालिने छ’ शाखा प्रमुख महतोले भने । नगर क्षेत्रमा खेती गरिने साढे छ हजार हेक्टर जग्गामध्ये करिब तीन हजार हेक्टर जग्गामा कृषि मिटरमार्फत् सिंचाई भइरहेको कृषि शाखा प्रमुख महतोले बताए ।
कृषि मिटर जडान गर्ने पाँच सय ९२ किसान
गोलबजार नगर क्षेत्रका पाँच सय ९२ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक उद्धृत गर्दै नगर प्रमुख साहले भने ‘किसानले खेतीपाती गर्दा मासिक रुपमा खपत गरेको विद्युतको बिल अनुसार प्राधिकरणलाई भुक्तानी दिइने छ ।’ त्यसबाहेक पुस मसान्तसम्म कृषि मिटर जडान गर्ने किसानहरु थपिए प्रकृया पूरा गरी शाखामार्फत् महसूल तिरिदिने उनले बताए ।
गोलबजार नगर क्षेत्रमा विभिन्न समयमा बनाइएका करिब डेढ दर्जन सिंचाई आयोजना संचालनमा रहेको उल्लेख गर्दै नगर प्रमुख साहले भने ‘त्यसबाहेक नगरको १३ वटै वडामा छ देखि १२ इञ्चसम्मको चार सय ५० वटा डिप बोरिङ्मार्फत् सिंचाई भइरहेको र चालु आ.व.को असारमसान्तसम्म ५० वटा जति थप हुनेछ ।’